हेटौंडा- हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग गर्दै चलाइएको हस्ताक्षर अभियानमा संकलन भएका हस्ताक्षर प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ मार्फत गृहमन्त्रालयलाई बुझाइएको छ।
सोमबार जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ मार्फत गृहमन्त्रालयलाई बुझाइएको अभियानका संयोजक विशालराज महतले जानकारी दिए ।
हेटौँडा अस्पताललाई पूर्ण रूपमा सरकारी अस्पतालकै रूपमा सञ्चालन गर्नुपर्ने माग गर्दै हेटौँडा अस्पताल बचाउ तथा सुधार फागुन ११ गतेदेखि ७ दिन अस्पतालपरिसरमा नागरिक हस्ताक्षर अभियान चलाइएको थियो।
७ दिन चलाइएको उक्त हस्ताक्षर अभियानमा ४ हजार भन्दा बढीले हस्ताक्षर गरेर समर्थन जनाएको अभियानका संयोजक महतले जानकारी दिए ।
हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा अलग स्थानमा अलग पहिचानसहितको आमजनताको पहुँचमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने, हेटौँडा अस्पतालको ६६ वर्षदेखिको सेवा इतिहासलाई कायम राख्न, संविधान प्रदत्त सेवा प्राप्त गर्न पाउने मौलिक हकको कार्यान्वयन गराउनुपर्ने आफूहरूको माग गर्दै हस्ताक्षर अभियान चलाएको र माग पूरा नभएसम्म विभिन्न अभियान चलिरहनेसमेत उहाँले जानकारी दिए ।
हेटौँडा अस्पतालको स्वामित्व प्रतिष्ठानमा जाने गरी निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ खारेज हुनुपर्नेलगायतका विषयमा सरोकारवाला निकायलाई दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान चलाइएको उनको भनाइ छ।

