काठमाडौँ– लघुकथा समाज, नेपालले कथाकार ध्रुव सापकोटा र किशन पौडेललाई लघुकथाको क्षेत्रमा योगदान गरेको भन्दै नगदसहित सम्मान गरेको छ । कथाकार सापकोटालाई सावित्री–केशर कथा सम्मान र लघुकथाकार किशन पौडेललाई बाटुली– खिलध्वज लघुकथा सम्मानबाट जनही नगद २१/२१ हजार रुपैयाँसहित सम्मानित गरिएको हो ।
साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले पुरस्कृत कथाकारहरुलाई बधाई दिँदै विसं २०६२ सालमा स्थापना भएको लघुकथा समाज, नेपालले थुप्रै कथा साहित्यमा क्रियाशील व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको बताए । सम्मान छनौट समितिका संयोजक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले स्रष्टा चयनको प्रक्रियाको बारेमा आफ्नो विचार राखेका थिए । उक्त कार्यक्रममा पुरस्कृत स्रष्टाहरूको बारेमा श्रीबाबु कार्कीले संक्षिप्तमा परिचय राखेका थिए । लघुकथा समाज ,नेपालका अध्यक्ष गोपाल अश्कको अध्यक्षतामा कार्यक्रम भएको हो ।


