कैलाश- मकवानपुरको कैलाश गाउँपालिकाले प्राथमिक तहमा नवनियुक्त भएका ३७ जनन शिक्षककाे पदस्थापन गरिएकाे छ । शिक्षा आयोगबाट प्राथमिक तहका स्थायीमा नाम निकालेका शिक्षकहरुलाई योग्यताक्रम र शिक्षकले छनौट गरेको विद्यालयको आधारमा पत्र हस्तान्तरण गरिएको हो ।
गाउँ शिक्षा समितिका संयोजक एवम् गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले योग्यताक्रम र छनौट गरिएको विद्यालय अनुसार शिक्षकलाई उक्त विद्यालयको लागि पद स्थापना गरिएको बताए । किताबको सिकाई मात्रै नभई व्यवहारिक सिकाई तर्फ पनि ध्यान दिन आग्रह गर्दै कैलाशका बालबालिकाको भविष्य शिक्षकको हातमा रहेको अध्यक्ष मुक्तानले बताए । बेसलेभलमा दिने शिक्षा प्रावि तहको शिक्षककाे हातमा रहेको भन्दै विकटता रहेको स्थानीय तह रहेकाले संकुचित भएर नबस्न गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले आग्रह गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले नवनियुक्त शिक्षकहरुलाई स्वागत गर्दै उच्च मनोबलका साथ सेवा प्रवाह गर्न आग्रह गरेका थिए ।
शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख समीर जोशीकन अनुसार शैक्षिक सत्र २०८१ मा गाउँपालिकामा छात्र दुई हजार पाँच सय २८ र छात्रा दुई हजार सात सय ५५ जना विद्यार्थी रहेका छन् । गाउँपालिकामा ४७ वटा प्रारम्भिक बालविकास केन्द्र, कक्षा १ देखि ३ सम्मको १२ वटा, कक्षा एक देखि ५ सम्मको २३ वटा, कक्षा १ देखी ८ सम्मको ४ वटा, कक्षा १ देखि १० सम्मको ५ वटा र कक्षा १ देखी १२ सम्मको एक वटा विद्यालय सञ्चालनमा रहेको प्रमुख जोशीले बताए ।



