Search
Close this search box.

तीन घण्टापछि खुल्यो पूर्वपश्चिम राजमार्गको अवरोध

हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिकास्थित लोथरमा रात्रीबसको ठक्करबाट एकजना युवाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्गको मनहरीमा गरेको सडकको अवरोध करिब ३ घण्टापछि खुलेको छ । बिहान करिब ९ बजेदेखि भएको अवरोध दिनको १२ बजे पूर्ण रुपमा खुलेको हो ।

मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिने र बस चालकलाई कानुनबमोजिम कारबाही गर्ने सहमतिपछि पीडित पक्षले राजमार्ग सञ्चालन गर्न दिएका हुन् । गएराति करिब ३ बजेको समयमा यात्रुबसले म्याजिकलाई ठक्कर दिँदा म्याजिक चालक राक्सिराङ गाउँपालिका– ४ का ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको थियो । चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०३–००१ च ३०१२ नम्बरको म्याजिक गाडी एक–आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

म्याजिकमा चालकबाहेक अन्य कुनै यात्रु नरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा म्याजिक चालक कोइरालाको खुट्टा, टाउको र शरीरमा चोट लागी गम्भीर घाइते भई उपचारका लागि चितवन नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan