हेटौंडा- राधा फाउन्डेसनले वैशाख २ गतेदेखि १३ गतेसम्म हेटौंडा–५, पिप्ले क्याम्पा रंगशालामा शिव महापुराण गर्ने भएको छ । झापाको कन्काइ–६, मनसापुरस्थित आश्रममा आश्रय लिइरहेका बालबालिकाका लागि सञ्चालक राधा फाउन्डेसन तथा पुराण आयोजक समितिको आयोजनामा कार्यक्रम हुने सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो ।
भागवत् कथावाचिका राधिका दासीको नेतृत्वमा फाउन्डेसनमा सरकार, गैरसरकारी निकायको सहयोगको अपेक्षा गरेको दासीले बताइन् । हाल दाताहरुको सहयोगमा झापाको कन्काइ नगरपालिका–६, मनसापुरस्थित १८ कोठे आश्रम तथा सत्संग भवन निर्माण जारी रहेको उनले जानकारी गराइन् ।
कार्यक्रममा १४ गते हेटौंडा क्षेत्रमा ९० वर्ष कटेका वृद्धवृद्धा तथा समाजमा धार्मिक तथा सांस्कृतिक जागरण गदै आएका आमा समूहमा रहेकालाई सम्मान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिइन् । हेटौंडाबाट धेरैले हेटौंडामा गर्न आग्रह गरेपछि तीन महिनाअघि तयारी सुरु गरेको उनले जानकारी दिइन् । रकम संकलनका लागिमात्र कार्यक्रम नरहेको उनको दाबी छ ।
कार्यक्रमका लागि वडा अध्यक्ष सुशील घिमिरे संयोजक छन् । वैशाख २ गते राप्तीस्थित गोरक्षेश्वरबाट कलशयात्रा गरी सुरु गरिने आयोजकले जानकारी दिएको छ । राधिका फाउन्डेसनको आफ्नै भवन नभएको अवस्थामा झापाको कन्काइमा घर भाडामा लिइ १५ बालबालिका अंग्रेजी माध्यममा अध्यापन गराइरहेको छ भने ३५ बालबालिका काठमाडौंका विभिन्न विद्यालयमा आवासीयरुपमा रहेको जानकारी दिइएको छ ।

