Search
Close this search box.

भूमिसम्बन्धी समस्या समाधान आयोगको काम तीव्र, कैलाशमा अन्तरक्रिया

कैलाश – भूमि सम्बन्धी समस्या समाधानका लागि गठित भूमि समस्या समाधान आयोग मकवानपुरले तीव्र रुपमा आफ्नो कामलाई अगाडि बढाउने क्रममा बिहीबार मकवानपुरको कैलाश गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम गरेको छ । मकवानपुरको बागमती गाउँपालिकाबाट सुरु भएको आयोगको अन्तरक्रिया तथा छलफल कार्यक्रम विहीबार कैलाशमा गरिएको हो ।

गाउँपालिकाको कार्यालय कालिकाटारमा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा भूमि समस्या समाधान आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता रहेको थियो । कैलाश गाउँबासीको भूमि सम्बन्धी समस्या समाधानमा आफूहरु तत्पर रहेको विज्ञ सदस्य चौलागाईले बताए । आयोगले गरेको काममा गाउँपालिका सहित सम्पूर्ण वडातहबाट साथ र सहयोग हुनुपर्ने बताउँदै तयार भएका फाईलहरु समयमा नै अनलाईन प्रविष्टि गरेर आवश्यक कामलाई अगाडि बढाउन चौलागाईले आग्रह गरे ।

छलफलको क्रममा जनप्रतिनिधि, वडा सचिव र राजनीतिक दलका प्रतिनिधिहरुबाट उठेका विषय वस्तुहरुको चौलागाईले जवाफ दिएका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मुक्तानले भूमि सम्बन्धी समस्या समाधान गर्न गाउँपालिकाले प्रक्रियागत हिसाबले काम गरिने बताए । प्रमाणीकरण भएका फाइलहरु अड्केर बसेको समय धेरै भएको भन्दै उनले केही छुट जग्गा दर्ता कायम गर्न आयोगले पुनः सूचना जारी गरिनुपर्नेमा जोड दिए ।

कैलाश गाउँपालिकामा भएकामा भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको ६ सय २५ जनाको लगत संकलन गरिएकोमा चार सय ६९ जनाको अनलाईन प्रविष्टि गरिसकेको गाउँपालिका भूमि शाखाका प्रमुख हस्तराम नेगीले बताए । अनलाईन प्रविष्टि गरिएकोमा भूमिहिन दलितमा ६ जना, भूमिहिन सुकुम्बासीमा ६७ जना र बाकीँ सबै अव्यवस्थित बसोबासी रहेको उनले बताए ।

अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, आयोग मकवानपुरका सदस्यद्धय कविन सांगामी, डिल माया घर्ती, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, वडा ३ का कार्यबहाक अध्यक्ष राममाया प्रजा, वडा ४ का वडाध्यक्ष तीलकबहादुर मोक्तान, वडा ७ का वडाध्यक्ष उदास कुमार भोलन, ८ का वडाध्यक्ष आशिष प्रजा, ९ का वडाध्यक्ष भूवनसिं घलान, १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष रवीन्द्र थिङ, नेकपा एमाले गाउँपालिका सचिव बाबुराम मुक्तान, वडा कार्यालयका सचिवहरु लगायतको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan