Search
Close this search box.

नयाँ वर्षमा बैकुण्ठमा पर्यटकको घुइँचो, गाउँपालिकाले बनाएको जीपलाइन उद्घाटन

हेटौंडा– नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाइरहेको मकवानपुरको कैलाश गाउँपालिका–२ स्थित कैलाश–बैकुण्ठमा नयाँ वर्षको दिन सोमबार आन्तरिक पर्यटकको घुइँचो लागेको छ । अग्लो डाँडाबाट दृश्यावलोकन गर्दै पर्यटकीय संरचनामा फोटो भिडियो खिचेर पर्यटकले आनन्द लिएका थिए । विशेषगरी धादिङ, मकवानपुर र चितवनबाट आन्तरिक पर्यटक घुम्न आएको कैलाश–२ का वडाध्यक्ष राजेन्द्र घिसिङले बताए । नयाँ वर्षको दिन सोमबार मात्रै बैकुण्ठमा करिब २ हजार जनाले भ्रमण गरेको वडाध्यक्ष घिसिङको भनाइ छ ।

नयाँ वर्षकै दिन स्थानीय सरकारको लगानीमा निर्मित कैलाश–बैकुण्ठ जीपलाइनको उद्घाटनसमेत गरिएको छ । कैलाश गाउँपालिकाको करिब ८८ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको एक हजार दुइसय मिटर लामो जीपलाइनको सोमबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्लले उद्घाटन गरेका हुन् ।

कैलाश गाउँपालिका–२ नम्बर वडाको बैकुण्ठ डाँडामा रहेको स्टेशनबाट चढेर कैलाश डाँडासम्म जीपलाइनमा यात्रा गर्न गर्न सकिन्छ । कैलाश गाउँपालिकाको नामाकरण भएको कैलाश डाँडा र बैकुण्ठ डाँडा ऐतिहासिक र धार्मिक महत्व बोकेको ठाउँ हो । धादिङ जिल्लाको सिमानामा रहेको बैकुण्ठमा पछिल्लो समय गाउँपालिका र प्रदेश सरकारलेसमेत पर्यटन संरचना निर्माणमा चासो दिइरहेका छन् ।

बैकुण्ठ–कैलाश जीपलाइन सञ्चालनमा आएसँगै यहाँ पर्यटकको आवागमन झनै बढ्ने गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले विश्वास व्यक्त गरे । बैकुण्ठसम्म पुग्ने सडक सुधारका साथै होमस्टे सञ्चालन र अन्य संरचना निर्माण गर्न गाउँपालिका लागिपरेको अध्यक्ष मुक्तानले बताए । प्रदेश र संघीय सरकारसँगसमेत समन्वय गरी सडक पूर्वाधार सुधार गर्ने र पर्यटक आवागमन वृद्धि गरी गाउँको विकास गरिने अध्यक्ष मुक्तानले प्रतिवद्धता जनाए ।

०८० माघमा ठेक्का प्रकाशित भएसँगै सन्ध्या निर्माण सेवासँग ८८ लाख ५६ हजार ७ सात ६१ रुपैयाँमा ०८१ फागुन मसान्त सम्ममा सम्पन्न गर्नेगरी जीपलाइन निर्माणको ठेक्का सम्झौता भएको थियो । जीपलाइनको अघिल्लो आर्थिक वर्षमा ४८ प्रतिशत काम सम्पन्न भएको थियो भने बाकिँ काम यसवर्ष सकिएको हो ।

जीपलाइन उद्घाटन गर्दै गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले कैलाश बैकुण्ठलाई ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा चिनाउनको लागि आफूहरु निरन्तर लागिरहेको बताए । मनोरम प्राकृतिक वातावरण भएको बैकुण्ठमा नयाँ पर्यटकीय संरचना थप गर्दै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याएर कैलाशले आम्दानी लिनुपर्ने उनको भनाइ थियो ।

जीपलाइन सञ्चालन भएसँगै धादिङ जिल्लाको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकाका जीपलाइन पारखीको गन्तव्य स्थल रहने विश्वास लिइएको छ । धादिङ सँग सिमाना जोडिएकाले जीपलाइन स्थल पुग्न बेनीघाट, थाहानगर र मनहरी बजार तीनै क्षेत्रबाट करिब ३३ किलोमिटर सडक सञ्जाल रहेको छ ।

बैकुण्ठमा जीपलाइन सँगै विभिन्न पर्यटकीय पार्कहरु समेत निर्माण भइसकेका छन् । प्राकृतिक सौन्दर्यता, हावापानी र धार्मिक तथा पर्यटकीय महत्वका विभिन्न स्थल रहेको मकवानपुरको बैकुण्ठ नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाइरहेको छ । स्थानीय सरकारले बैकुण्ठलाई पर्यटकीय क्षेत्र बनाउनको लागि चासोका साथ लगानी गरेसँगै यहाँ आकर्षक पार्कहरु, गुम्बालगायतका संरचना निर्माण भइसकेका छन् । धादिङ, मकवानपुर र चितवनबाट घुम्न आउने पर्यटकहरुको संख्या पनि बढ्दो छ ।

बैकुण्ठबाट कैलाश गाउँपालिकाको अधिकांश वडाको अवलोकन गर्न सकिन्छ । ऐतिहासिक विष्णुकुण्ड, गुफा, तामाङ जातिको परम्परागत सांस्कृतिक सम्पदा रहेका कारण पर्यटकीय हिसाबले बैकुण्ठ निकै महत्वपूर्ण मानिएको गाउँपालिकाका २ नम्बर वडाध्यक्ष राजेन्द्र घिसिङले बताए । कैलाश बैकुण्ठको पर्यटकीय विकासका लागि गाउँपालिकाका साथै बागमती प्रदेश सरकारले समेत लगानी गरेको छ ।
बैकुण्ठमा केही वर्षअघि निर्माण गरिएको डाँफे मुनाल पार्कले सबैको ध्यान खिचिरहेको छ । चारैतिर हिमाल र पहाडको दृश्य देखिने अग्लो पहाडको टुप्पामा निर्माण गरिएको डाँफे र मुनालको आकर्षक प्रतिमाले सबैको मन लोभ्याउने गरेको छ ।

डाँफे मुनाल पार्ककै मुनिपट्टी आकर्षक विष्णुकुण्ड छ । अग्लो डाँडाको समथल ठाउँमा सधैँ पानी जमिरहने पोखरीलाई विष्णुकुण्डको नाम दिइएको छ । विष्णुकुण्डलाई संरक्षण गर्दै कुण्डको बीचमा राखिएको वौद्ध धर्मका धर्मगुरु पद्मसम्भवको आकर्षक मूर्तिले पनि पर्यटकलाई उत्तिकै लोभ्याउने गरेको छ ।

\डाँफे मुनाल पार्कसँगै बैकुण्ठ गाउँ सतिघाट संरक्षण स्थल पनि निर्माण गरिएको छ । करिब चार सय वर्षअघि बैकु्ण्ठमा मानव बस्ती बसाल्ने सुर्ज मोक्तानको कान्छी पत्नी केमालोमा मोक्तानले पतिको मृत्युपछि सति गई चिहान बनाइएको ठाउँलाई संरक्षण गरी सतिघाट निर्माण गरिएको वडाध्यक्ष घिसिङको भनाइ छ । डाँफे मुनाल पार्क नजिकैको डाँडामा आकर्षक डम्फूपार्क, चितुवापार्क र टुङ्गा पार्क निर्माण गरिएको छ । पर्यटनका लागि आवश्यक धेरै संरचनाहरु बनाइसकिएको र अब पर्यटकको आवासको लागि व्यवस्थित होमस्टे स्थापना गरिने योजना रहेको वडाध्यक्ष घिसिङले बताए ।

मकवानपुरको पर्यटकीय नगरी पालुङबाट करिब ३ घण्टाको कच्ची सडकको यात्रापछि कैलाशको बैकुण्ठ पुग्न सकिन्छ । त्यस्तै धादिङ जिल्लाको मलेखु र आदमघाटबाट पनि बैकुण्ठ पुग्ने सडक बनिसकेको छ । राक्सिराङ गाउँपालिकाको खैराङबाट पनि बैकुण्ठसम्म पुग्न सकिनेगरी सडक निर्माण भइसकेको छ । हिउँदयाममा मकवानपुरको मनहरीबाट करिब साढे २ घण्टामै बैकुण्ठडाँडा पुग्न सकिन्छ । धादिङको बेनिघाट रोराङ गाउँपालिकासँग सिमाना जोडिएको बैकुण्ठबाट धादिङ, गोरखा र रसुवाका हिमालहरुको आकर्षक दृश्य देख्न सकिन्छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan