Search
Close this search box.

सरकारले खेलाडीको मनोबल बढाउन ध्यान दिनुपर्छः नेता बानियाँ

हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले खेलकुद क्षेत्रको समग्र विकासका लागि स्थानीयदेखि संघीय सरकारले ध्यान दिनुपर्ने बताएका छन् । खेलाडीको क्षमता अभिवृद्धिका साथै उनीहरुको मनोबल बढाउँदै स्थानीयदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभिनसक्ने बनाउनुपर्नेमा नेता बानियाँको जोड थियो ।
नेपाली कांग्रेस थाहा नगरपालिका ९ नम्बर वडा कार्यसमितिको आयोजनामा नयाँ वर्ष तथा लोकतन्त्र दिवसको अवसरमा स्वर्गीय शालिकराम मानन्धर र तेजबहादुर केसीको स्मृतिमा भएको प्रथम जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सभापति बानियाँले खेलकुद क्षेत्र मुलुकको सान भएको भन्दै यसमा प्रयाप्त बजेट छुट्याउन पहल गरिने प्रतिवद्धता पनि जनाए । भलिबल, फुटबललगायतका खेल क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकारमार्फत प्रयाप्त बजेट विनियोजन गर्न पहल गरिने उनले प्रतिवद्धता जनाए ।
नेपाली कांग्रेसले स्थापनाकालदेखि नै मानवतासँग जोडिनुका साथै सामाजिक कामहरु गरिरहेका बताउँदै खेलकुद क्षेत्रमार्फत शारिरीक तथा मानसिक तन्दुरुस्तीका कामहरुमा पनि ध्यान दिइरहेको बानियाँले बताए । गणतन्त्रमा समावेशी विकासका लागि खेल क्षेत्रको विकास पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ थियो ।
प्रतियोगिताको उपाधि हेटौंडाको छहारी युवा समाजले प्राप्त गरेको छ । फाइनल खेलमा आयोजक कांग्रेस थाहा ९ लाई पराजित गर्दै समाजले उपाधि हात पारेको हो । छहारी युवा समाजले ७५ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता आयोजक टिमले ४५ हजारका साथै तेस्रो हुने सोल्टु युवा क्लवले ३० हजार र सान्त्वना हुने डाँडाबास युवा क्लवले ५ हजार रुपैयाँ प्राप्त गरेको थियो । वैशाख ८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा जिल्लाभरका ९ वटा टिमको सहभागिता रहेको थियो । नेपाली कांग्रेस थाहा ९ का उपसभापति बुद्धबहादुर बलामीको अध्यक्षता तथा प्रदेश सभापति बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan