Search
Close this search box.

उच्च काम ज्वरोसँगै बान्ता भइरहेको छ ? औलो पो हो कि ?

हेटौंडा– अधिकांश रोगको प्रमुख लक्षण भनेको ज्वरो हो । ज्वरो आउँदा के भएर ज्वरो आएको हो भनी विभिन्न जाँच गर्ने गरिन्छ तर, औलो, कालाजार जस्ता सर्ने रोग पो लागेको हो कि भन्नेतिर ध्यान नदिँदा ज्यानै जान पनि सक्छ ।

विशेष गरी गर्मीयाममा उच्च काम ज्वरो आउने, बान्ता भइराख्ने, टाउको दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिए औलो र कालाजारको जाँच गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । विश्व औलो दिवसको अवसरमा शुक्रबार जनस्वास्थ्य कार्यालय मकवानपुरले जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया गर्दै औलो, कालाजार जस्ता रोगबारे आम नागरिकमा सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएको छ । औलो र कालाजारको जाँच सबैजसो स्वास्थ्य संस्थामा निशुल्क हुने गरेको भन्दै लक्षण देखिए जाँच गराउन कार्यालयले आग्रह गरेको छ । विशेष गरी बालबालिकाहरु औलोको उच्च जोखिममा हुने गरेका जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।

औलो रोग संक्रमित एनोफलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । औलोलाई अंग्रेजीमा मलेरिया भनिन्छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार बागमती प्रदेशमा झण्डै १८ लाख १८ हजार जनसंख्या औलोको जोखिममा रहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा १ लाख २६ हजार ६८ जनामा रोगबारे रक्त परीक्षण गरिएको छ । सो जाँचबाट ९१ जनामा औलो पुष्टी भएको थियो । बागमतीमा औलोको संक्रमणको दर ०ं.०५ रहेको छ भने रक्त परीक्षण पोजेटिभ दर ०.०७ रहेको जनस्वास्थ्य अधिकृत घिमिरेले बताए ।

औलो रोग निवारणका लागि सरकारी संस्थामार्फत औलो बिरामीको खोज पड्ताल, निदान तथा उपचार साथै सीमा नाका तथा समूदायमा शंकास्पद व्यक्तिको रक्त परीक्षण गर्ने गरेको जनाइएको छ । नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई औलोमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य अनुरुप यसको निवारणलाई प्राथमिकतामा राखिएको छ । उच्च कामज्वरोलगायतका लक्षण देखिए अन्य परीक्षणसँगै औलो र कालाजारको परीक्षण गराउन जनस्वास्य कार्यालय मकवानपुरले आह्वान गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan