Search
Close this search box.

सेवाप्रवाहको पारदर्शितामा खानेपानी बोर्डको प्रयास


हेटौंडा। सेवाप्रवाहमा पारदर्शिता र नागरिक सहभागितालाई प्राथमिकतामा राख्दै हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आफ्‌नो १२ औं वार्षिकोत्सव गरेको छ । पानीआपूर्ति सुधारमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सार्वजनिकरुपमा सम्मान गर्दै बोर्डले सेवासुधारमा नागरिक र कर्मचारीको भूमिकालाई कदर गरेको छ ।
बोर्ड अध्यक्ष प्रताप बिष्टको सभाध्यक्षता र हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामा र प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागीले सेवाप्रवाहको गुणस्तर सुधारमा स्थानीय तह, कर्मचारी, र नागरिकबीच सहकार्य अपरिहार्य भएकोमा जोड दिए ।
मेयर लामाले न्यूनतम् खपत गर्ने उपभोक्ताको पानी महसुल मिनाहा गरिएको जानकारी दिदै स्थानीय सरकार जनमुखी र उत्तरदायी बन्नुपर्नेमा जोड दिइन् । मेयर लामाले नागरिकप्रतिको उत्तरदायित्वविहीन संरचना दीर्घकालीनरुपमा टिक्न नसक्ने स्पष्ट पार्दै राज्यका सबै निकायहरु जनताको अपेक्षाअनुसार जिम्मेवार बन्नुपर्ने धारणा राखिन् ।
मेयर लामाले विकासनिर्माण तथा सेवाप्रवाहको काममा गम्भीरता अपनाउनुपर्ने बताइन् । उनले राजनीतिक नेतृत्व र प्रशासनले नागरिक समस्या समाधानका लागि एकजुट भएर काम गर्नुपर्नेमा जोड दिइन् । ‘सहज सेवा, पारदर्शिता र सुशासनसहित काम गर्नुपर्छ,’ उनले भनिन्‌–राज्यका संरचनाहरु समन्वय र सहकार्यमार्फत् जनतालाई सेवा दिन सक्षम हुनु आवश्यक छ ।
मेयर लामाका अनुसार हेटौंडा उपमहानगरपालिका नागरिकको खानेपानी अधिकार सुनिश्चित गर्न निरन्तर सक्रिय छ । विपन्न वर्गका नागरिकलाई न्यूनतम् महसुलमा खानेपानी सेवा उपलब्ध गराउन बोर्डमार्फत् पहल भइरहेको उनले बताइन् । खानेपानीको दीर्घकालीन व्यवस्थापनका लागि संघ, प्रदेश र अन्य निकायस“ग सहकार्य गर्दै स्रोत पहिचान, संरक्षण र संरचना निर्माणमा काम भइरहेको पनि उनले जानकारी दिइन् ।
बोर्ड अध्यक्ष बिष्टले हेटौंडा बजार क्षेत्रमा खानेपानी आपूर्ति सहज बनाउन बोर्ड निरन्तर क्रियाशील रहेको बताए । स्रोत संरक्षण, विस्तार तथा रिचार्ज पोखरी निर्माणका लागि योजना अगाडि बढाइएको उनको भनाइ छ । उनका अनुसार बोर्डले दैनिक तीन करोड ७० लाख लिटर पानी उत्पादन गर्दै २८ हजार ४ सय ६३ धारामार्फत् नौं घण्टा सेवा दिइरहेको छ । ३९ वटा डिप ट्युबवेल र १५ वटा समवेलबाट उत्पादित पानी ६ सय २८ किलोमिटर पाइपलाइनमार्फत् वितरण भइरहेको उनले जानकारी दिए ।
कार्यक्रममा पानी चुहावटको सूचना दिने, समयमै महसुल तिर्ने, स्वयम्‌सेवीरुपमा ट्यांकी सञ्चालन गर्ने, तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई नगदसहित सम्मान गरियो । यसले उपभोक्तालाई अधिकारस“गै दायित्वबोध गराउने अपेक्षा गरिएको छ । कार्यक्रममा प्रदेश मन्त्रालयका सचिव, वडा अध्यक्षहरु, पत्रकार महासंघका प्रतिनिधिलगायतले संस्थागत् समृद्धिका लागि पारदर्शी सेवा, उत्तरदायी नेतृत्व र सक्रिय नागरिक सहभागिता अपरिहार्य भएको बताए । वार्षिकोत्सवको अवसरमा प्रस्तुत प्रगति विवरणले बोर्डले सेवासुधारतर्फ गरेको प्रयासलाई पुष्टि गरेको छ । विद्यार्थी, कर्मचारी, जनप्रतिनिधि र सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा सामाजिक उत्तरदायित्व र सार्वजनिक सेवाप्रवाहमा नयाँ आश पलाएको देखिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan