Search
Close this search box.

नवोदयमा नमुना संयुक्त राष्ट्र परिषद्

हेटौँडा– विद्यालय तहमा अध्ययनरत विद्यार्थीमा नेतृत्व, व्यक्तित्व विकास, समालोचनात्मक सोचाई, सहकार्य, वादविवादलगायतका अन्तर्निहित प्रतिभाको उजागर गर्ने उद्देश्यले हेटौँडा–४ मा रहेको नवोदय शिशु सदनको आयोजनामा नमुना संयुक्त राष्ट्र संघीय परिषद्को आयोजना गरिएको छ । जेठ १५ गतेदेखि सुरु भएको परिषद् शनिबार समापन गरिएको हो ।

परिषद्मा सदस्य राष्ट्रको भूमिकामा नवोदयसहित मकवानपुरका विभिन्न विद्यालयका साथै मकवानपुरबाहिरका केही विद्यालयका विद्यार्थीकोसमेत सहभागिता रहेको थियो । संयुक्त राष्ट विश्वको परिचालक निकाय हो । जसले देशहरूले पालना गर्नुपर्ने कानुन तथा नीति बनाउँछ । नमुना संयुक्त राष्ट्र सङ्घ कार्यक्रमले मुख्यत विश्वका महत्वपूर्ण समस्याहरुलाई समाधान गर्ने प्रयत्न गर्दछ । परिषद्मा विद्याथीहरूले कटनीति अन्तर्राष्ट्रिय सम्बन्ध र विभिन्न देशहरूका संयुक्त राष्ट्र प्रतिनिधिहरूको बारेमा सिक्ने अवसर प्राप्त गर्ने विद्यालयले जनाएको छ । नमुना परिषद्मा विद्यार्थीहरु वास्तविक संसारका समस्याहरू समाधान गर्ने प्रयासमा लाग्ने विश्वास गरिएको छ ।
विद्यार्थीमा नेतृत्व विकास, सामूहिक छलफल लगायत आफ्ना विचार र धारणालाई पस्कन गतिविधिमा आधारित शिक्षालाई प्राथमिकता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका माध्यमिक संयोजक सिएम रिमालले जानकारी दिए । तीन दिनसम्म चलेको परिषद्मा अन्तर्राष्ट्रिय सम्बन्ध लगायत अन्तर्राष्ट्रिय नीतिनियम, योजना तथा समस्याको समाधानबारे विद्यार्थीहरुले बृहत विश्लेषण गरेको रिमालले बताए ।

वार्षिक रुपमा हुने गरेको यो कार्यक्रम वास्तविक संयुक्त राष्ट्र सङ्घलाई आधार मानेर सम्पन्न हुने गरेको कार्यक्रममा संयुक्त राष्ट्र सङ्घमा हुने सम्पूर्ण गतिविधिलाई अनुकरण गर्ने गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिका निर्वाह गर्दै विद्यार्थीले राष्ट्रकै पक्षमा रहेर विश्वव्यापी मुद्दामा छलफल गरेका थिए । राष्ट्र सङ्घका विभिन्न निकायको कार्य क्षेत्र भिन्दा भिन्दै हुन्छन् र तिनै कार्य क्षेत्रका मुख्य पूर्व निर्धारित समस्यामा वृहत छलफल गरेर कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विश्व स्वास्थ्य संगठनको तर्फबाट किशोर स्वास्थ्य सेवाका लागि वातावरण सुधार गर्दै गर्भपतनको रोकथामका लागि छलफल भएको थियो । संयुक्त राष्ट्र सुरक्षा परिषद् बाट युद्ध अपराधहरूका लागि व्यापक रणनीति अपनाउने आवश्यकतालाई पुनः पुष्टि गर्दै जसमा आणविक निशस्त्रीकरण र द्वन्द्वग्रस्त क्षेत्रहरूमा जटिल सङ्कटहरूमा विशेष ध्यान दिनेबारे छलफल गरिएको थियो । यस्तै संयुक्त राष्ट्र मानवअधिकार परिषद, संयुक्त राष्ट्र विकास कार्यक्रम, संयुक्त राष्ट्र वातावरण कार्यक्रमको नमुना प्रतिनिधि बनाई विभिन्न विषयमा छलफल भएको थियो ।

परिषद्मा नवोदयसँगै मकवानपुर बाल विद्या सदन र कमाने एकेडेमीका साथै नवलपरासरीबाट आरम्भ एकेडेमी, बुटवलबाट एपेक्स विद्यालय, रौतहटबाट नेपाल पुलिस स्कुल, पोखराबाट पोखरा लर्नर एकेडेमी, चितवन सौराहाबाट इन्टरनेशनल स्कुल पनि नमुना परिषद्मा सहभागी बनेका थिए । नमुना संयुक्त राष्ट्र परिषद्को महासचिवको भूमिका निकेश श्रीवास्तवले भूमिका निर्वाह गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan