हेटौँडा– हेटौँडा औद्योगिक क्षेत्रमा रहेको बहुराष्ट्रिय कम्पनी एसिएन पेन्ट्स्मा कार्यरत एक कर्मचारीलाई निष्काशन गरेपछि विभिन्न संघ संगठनमा आवद्ध कर्मचारीहरु २ हप्तादेखि आन्दोलित बनेका छन् । गत जेठ ८ गते उद्योगका कर्मचारी अर्जुन ढकाललाई उद्योग प्रशासनले बिनाकारण निश्कासन गरेको आरोप लगाउँदै कर्मचारीहरु ढकाललाई पुनर्बहालीको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।
कर्मचारीहरुले गत जेठ ९ गते उद्योग परिसरमा प्रदर्शन गरी पुनर्बहालीको माग गरेका थिए । अखिल नेपाल औद्योगिक मजदुर संघ एसियन पेन्ट्स (नेपाल) प्रा.लि. ईकाई समितिले संघर्षको कार्यक्रम घोषणा गरी विभिन्न चरणमा आन्दोलन जारी राखेको हो ।
ईकाई समितिका अध्यक्ष सन्तोष खड्काले जेठ १८ गते आईतबारदेखि कालोपट्टी बाँधेर काम सुरु गरिएको बताए । माग पूरा नभए जेठ २५ गतेदेखि प्रत्येक दिन २–२ घण्टा बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म पेन डाउन गरी कार्यस्थलमा बस्ने र २८ गतेदेखि प्रत्येक दिन ४–४ घण्टा बिहान ६ बजेदेखि १० बजेसम्म र दिउँसो २ बजेदेखि ६ बजेसम्म पेन डाउन गरी कार्यस्थलमा बस्ने कार्यक्रम घोषणा गरिएको मजदुर संघले जनाएको छ ।
कर्मचारी ढकाललाई पुनर्बहाली नगरे असार १ गतेदेखि पुनबर्हाली नगरेसम्म उद्योगको कामकाज ठप्प पारी कार्यालय परिसरमा उपस्थित भई दवाव दिने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उद्योगमामा कार्यरत ढकाललाई बिना कारण निश्काशन गरेपछि श्रम तथा रोजगार कार्यालय र जिल्ला प्रशासन कार्यालयले उद्योग प्रशासनलाई निश्कासन नगर्नु भन्ने दिएको आदेश समेतलाई अटेर गर्दै उद्योग प्रशासन अगाडि बढेपछि मजदुरहरु आन्दोलित भएको अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुर अध्यक्ष रामशरण घिमिरेले बताए ।
यता उद्योग प्रशासनले भने खराब आचरण भएकोले कर्मचारी निष्कासन गरिएको बताएको छ । एसियन पेन्ट्सका मानव संशाधन विभागका विक्रम सञ्जेलले उक्त कर्मचारीको विषयमा कानुनी प्रक्रियामा उद्योग अगाडि बढेकोले कानुन अनुसार हुने बताए ।

