हेटौँडा– हेटौँडा उपमहानगरपालिका– १८ खट्कुलेस्थित टासी देलिङ्ग बौद्ध गुम्बामा राखिएको त्रिबुद्ध मूर्तिको प्राण प्रतिष्ठा तथा गुम्बा भवनको समुदघाटन गरिएको छ । नेपाली काँग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले बिहीबार त्रिवुद्ध मूर्तिको प्राण प्रतिष्ठा तथा नवनिर्मित भवनको समुदघाटन गरेको छ ।
प्राण प्रतिष्ठा तथा गुम्बा भवनको उद्घाटन गर्दै नेता बानियाँले बद्ध भगवानको मूर्ति स्थापनाले नेपालका विभिन्न जातजातिमा धार्मिक र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै बुद्धको मार्ग दर्शनले हजारौँ वर्षदेखि मानिसलाई एकजुट बनाउँदै सत्य र अहिंसाको बाटोमा लाग्न प्रेरित गर्ने बताए ।
नेता बानियाँले स्थानीय नेता, समाजसेवी तथा अग्रजहरुको आग्रहमा आफूले बागमती प्रदेश सरकारको संस्कृति पर्यटन मन्त्रालयबाट बजेट विनियोजनमा सहयोग गरेको बताउँदै नेता बानियाँले आगामी दिनमा पनि यस गुम्बाको घेराबारा तथा पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ७५ लाखमा निर्मित टासी देलिङ्ग बौद्ध गुम्बा समितिका अध्यक्ष राजकुमार गोलेको सभापतित्वमा मूर्तिको प्राणप्रतिष्ठा तथा नवनिर्मित भवनको समुदघाटन कार्यक्रम भएको थियोे ।

