हेटौँडा– ‘प्लाष्टिकमुक्त हेटौँडा, हरियालीयुक्त नगर’ भन्ने नाराका साथ हेटौँडामा बिहीबार विश्व वातावरण दिवस मनाइएको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रमहरु गरी वातावरण दिवस मनाइएको हो ।
टोल विकास संस्था नगर समन्वय समितिले सप्ताहव्यापी विविध कार्यक्रमको आयोजना गरेको थियो । सप्ताहव्यापी कार्यक्रम समापन गर्दै कार्यक्रमका प्रम्सख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद शिलवालले वातावरण संरक्षणको महत्वलाई स्मरण गराउँदै प्लाष्टिकजन्य प्रदूषण नियन्त्रणका लागि प्रदेश सरकारले अवलम्बन गरेका नीतिहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिरहेको बताए । उनले यस्तो कार्यक्रमले जनस्तरसम्म चेतना फैलाउने र सहकार्यको बाटो खोल्ने विश्वास व्यक्त गरे ।

हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले हेटौँडालाई हरित, सफा र प्लाष्टिकमुक्त बनाउने प्रतिवद्धता दोहोर्याइन् । उनले वातावरण संरक्षणको अभियानमा समुदाय, विद्यालय र युवा पुस्ताको सक्रियता प्रशंसायोग्य भएको बताउँदै नगरपालिकाले आवश्यक बजेट र नीतिमा सहयोग पु¥याउने बताइन् ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री माननीय कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । समारोहमा विशेष अतिथि प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, नगर उपप्रमुख राजेश बानियाँ, नेकपा एमाले मकवानपुरकी सीता विष्ट, वडा अध्यक्षहरू वडा नं. १ का सबिन न्यौपाने, वडा नं. २ का विष्णु गोपाल महर्जन, वडा नं. ४ का नबिन सिग्देल, वडा नं. ८ का रामकृष्ण थापा, वडा नं. १० का फुर्बा दोर्जे लामा, वडा नं. ११ की जुना दाहाल, वडा नं. १७ का उद्धव सत्याल, वडा नं. १८ का अनिल कुमार बानिया, र वडा नं. १९ का नरनाथ सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमकैबीच टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–२, ८, ९, ११, डिभिजन वन कार्यालय मकवानपुर, चन्द्रोदय मा.वि., पशुपति हेल्थ क्लब, वन विज्ञान संकाय, सामुदायिक विकास तथा सचेतना नेपाल, नेपाल रेडक्रस सोसाइटी मकवानपुर, संयुक्त मधेसी सेवा समाज, सामुदायिक प्रहरी सेवा केन्द्र, जीवन शर्मा, निश्चल भट्ट, छेगुन लामा, सुरेश लामिछाने, ईशा शर्मा लगायतलाई प्रशंसा पत्र प्रदान गरियो ।
सप्ताहव्यापी कार्यक्रमका संयोजकहरूलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट हुनेलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।

