Search
Close this search box.

योजना तर्जुमामा फुकाइए किसानका समस्याका पोका


हेटौंडा-कृषि प्रवद्र्धन समितिद्वारा आयोजित कृषिसम्बन्धमा पालिकास्तरीय योजना तर्जुमामा किसानका समस्याका पोका फुकाइएका छन् । हेटौंडामा शुक्रबार मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा कृषिसम्बन्धमा पालिकास्तरीय योजना तर्जुमा कार्यक्रम भएको हो ।
प्रत्येक वडा–एक शीत भण्डार र एक वीउ बैंक निर्माण, प्रत्येक वडामा एक पशु तथा एक कृषि प्राविधिक, वडा तहमा वडाभित्रकै उत्पादनमात्र बिक्री गर्ने गरी दैनिक वा साप्ताहिक हाटबजार, वडाभित्र उत्पादन भएका कृषिउपजको न्यूनतम् समर्थन मूल्य , उत्पादित कृषिउपजको बजारीकरणका लागि ढुवानीको सहज व्यवस्था, पशुपक्षी तथा कृषिबालीको निःशुल्क वीमा, कृषिउद्यमीलाई पेन्सन सुबिधा प्रदान गर्नुपर्नेमा सहभागीले ध्यानाकर्षण गराएका थिए ।
उत्पादनका आधारमा अनुदानको प्रावधान लागु, पालिकाभित्रका कृषिउद्यमीलाई आवश्यक प्रांगारिक/कम्पोष्ट र रासायनिक मल उत्पादन वा वितरणमा पालिकाको पूर्णसहयोग तथा सहजीकरण, पालिकाभित्रका जडिबुटी पहिचान, प्रशोधन र बिक्रीवितरणमा ध्यान, पालिका तहमा जडिबुटी संकलन केन्द्र निर्माण, पालिका तहमा सर्वपक्षीय कृषि प्रवद्र्धन समिति गठन, सामुदायिक वनलगायत उर्वर तर खाली जमिन पहिचान गरी स्थानीय कृषक वा कृषक समूहलाई उपलब्ध, उनीहरुको कृषिकार्यलाई सघाउन आधुनिक कृषि प्रविधिहरुको निःशुल्क व्यवस्थापन तथा अन्य सहजीकरण, कृषिउद्यमी र कृषिउपज व्यवसायीहरुका समस्या अबिलम्ब समाधान, ‘एक गाउँ –एक उत्पादन’ को अवधारणा पालिकाद्वारा कार्यान्वयन, स्थानीय तथा रैथाने वीउ संरक्षण तथा विकासका लागि पालिका तहमा संरक्षण केन्द्र, पालिकाभित्र विषादी परीक्षणको व्यवस्थासहित उत्पादित बस्तुहरुको ग्रेडिङ, प्याकेजिङ र लेबलिङ व्यवस्था, लम्पिस्किन, खोरेतलगायत पशुचौपायामा लाग्ने रोगको भ्याक्सिन सहज उपलब्ध गराउन प्रभावकारी पहल, किसान परिचयपत्र लागु गरी वीउ पूंजी, कृषिउद्यम दर्ता तथा नवीकरण निःशुल्क, सम्पूर्ण प्रत्यक्ष कर मिनाहा, किसानलाई कृषिउद्यमी हुन अभिप्रेरित गरी राज्यलाई किसानको वास्तविक तथ्यांक प्राप्त गर्न र सुबिधा व्यवस्थापन गर्न सहजता, कृषिउद्यमीलाई खानेपानी तथा विद्युत् जडान र प्रतियुनिट खपतमा सहुलियत प्रदान, वित्तीय साक्षरता कार्यक्रमसंगै कृषिकर्जा तथा व्याज अनुदान सुचारु गर्न पहल गरिनुपर्ने जस्ता विषय प्रस्तुतिकरणमा प्रस्तुत गरिएका थिए ।

पालिकासंग सहकार्य गरेर पालिका र जिल्लामा कृषि प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम राखिएको संघ अध्यक्ष प्रमोदसिंह रानाभाटले जानकारी दिनुभएको थियो । जिल्ला समन्वय समिति प्रमुख ललित घलानको प्रमुख आतिथ्यता तथा मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष रानाभाटको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा विवेक सुबेदी र फेञ्चु लामाले प्रस्तुतिकरण गरेका थिए । कार्यपत्र प्रस्तुत गर्ने क्रममा मुलभूत विषयहरुमा ध्यानाकर्षण गराइएको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघ महासचिव प्रतिमा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमको संयोजक निलम पाण्डे थिइन् । कार्यक्रममा स्थानीय पालिकाका प्रशासकीय प्रमुख, कृषि महाशाखा प्रमुख, पालिकाका प्रशासकीय प्रमुख, पालिकाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan