हेटौंडा । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य कार्यालय मकवानपुरले सबै नीतिमा स्वास्थ्य नीति कार्यान्वयनका लागि जिल्ला तहमा पैरवी कार्यक्रम गरेको छ । मन्त्रालयले लिएको सबै नीतिमा स्वास्थ्य नीति कार्यान्वयन निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।
जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे र डिलेन्द्र बुढा मगरले प्रस्तुतिकरण राखेका थिए । प्रस्तूतीकरणमा नीति निर्माणका सबै तहमा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । शिक्षा, यातायात, खानेपानी, वातावरण, कृषि लगायतका सबै क्षेत्रका नीतिहरूले व्यक्ति तथा समुदायको स्वास्थ्यमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने भएकाले ती नीतिहरू निर्माण गर्दा स्वास्थ्यसम्बन्धी पक्षलाई समेत विचार गर्नु आवश्यक रहेको प्रस्तूतीकरणमा जनाइएको छ ।
बागमती प्रदेश सरकारले ल्याएकोे सबै नीतिमा स्वास्थ्य नीति निर्देशिकाका आधारमा योजना समावेश गर्नाले स्वास्थ्यमा दीर्घकालीन सुधार ल्याउने विश्वास गरिएको छ । कार्यक्रममा सहभागीले नीति, कार्यक्रम तथा बजेट निर्माणका क्रममा स्वास्थ्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।
