कैलाश- शिक्षा, स्वास्थ्य तथा आधारभूत सुविधाबाट बन्चित भइरहेका कैलाश गाउँपालिकाबासीकाे समग्र हितलाई मध्यनजर गर्दै गाउँपालिकाले मंगलबार आगामी आर्थिक वर्ष २०८२/०८३ काे नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।
गाउँसभाकाे १६ ओैँ अधिवेशनमा गाउँपालिका अध्यक्ष लाेकबहादुर मुक्तानले आगामी आवकाे नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेका हुन् । नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रगत कार्यक्रमहरु तय गरी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइएकाे छ । गाउँपालिकाले विकट गाउँमा स्वास्थ्य सेवाकाे पहुँच वृद्धि गर्न नसर्ने राेगकाे पहिचान र निदान गर्न विशेष नीति ल्याएकाे छ ।
‘कैलाश बन्दैछ, बा आमालाई सन्चै छ’ भन्ने नाराका साथ मुटु तथा रक्तनली, दम, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मृगौला रोज जस्ता नसर्ने रोगहरूको प्रकोपलाई न्यूनीकरण गर्न र समयमा नै निदान गर्न टोल टोलमा स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि सहितको एकीकृत घुम्ती शिविरहरू सञ्चालन गरिने नीति गाउँपालिकाले लिएकाे छ । शिविरमा उपलब्ध भएसम्म निशुल्क औषधि वितरण गर्ने साथै सम्बन्धित निकायमा प्रेषण गर्ने व्यवस्था मिलाइने कार्यक्रममा उल्लेख छ ।
गाउँपालिका केन्द्र कालिकाटारमा निर्माण कार्य अन्तिम चरणमा रहेको १० सैयाकाे अस्पताल सञ्चालनका लागि आवश्यक यन्त्र उपकरण, दरवन्दी बमोजिम चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापन गरी आगामी वर्षबाट सञ्चालनमा ल्याइने पनि जनाइएकाे छ । स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच र सामाजिक समावेशिता सुनिश्चिता गर्न साथै सेवाग्राहीको सशक्त सहभागिताको लागि सबल वातावरण बनाउन स्वास्थ्य संस्थाहरूको भौतिक पूर्वाधार, स्वास्थ्यकर्मी, औषधी तथा औजार उपकरण व्यवस्थापनमा जोड दिइने जनाइएकाे छ ।
एक घर एक धारा नीतिकाे प्रभावकारी कार्यान्वयन गर्दै खानेपानी तथा सरसफाई कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषि उपज बजारीकरणकाे लागि मासिक हाटबजार सञ्चालन गर्ने कार्यक्रम गाउँपालिकाले तय गरेकाे छ भने एक घर एक करेसाबारी प्रर्वद्धनका लागि तरकारीका बिउबिजन उपलब्ध गराइने याेजना छ । उपाध्यक्षसँग जनश्रमदान कार्यक्रम कार्यक्रमलाई निरन्तरता दिई टाेल बस्ति वडा र सार्वजनिक स्थल सरसफाई कार्यक्रम गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
अध्यक्षसँग किशाेर किशाेरी कार्यक्रम,अध्यक्ष कप खेलकुद तथा उपाध्यक्ष कप भलिबल प्रतियाेगितालाई निरन्तरता दिएकाे छ । बिगतका वर्षहरुदेखि निरन्तरता दिँदै आइएकाे चेली प्राेत्साहन कार्यक्रमलाई पनि निरन्तरता दिइएकाे छ । चेपाङ समुदायकाे सांस्कृतिक, सामाजिक र ऐतिहासिक विशेषताहरुलाई सम्मान गर्दै चेपाङ संरक्षित क्षेत्रकाे रुपमा विकास गर्ने नीति गाउँपालिकाले लिएकाे छ । पिछडिएका समुदायका लागि आयआर्जनका कार्यक्रमहरु पनि सञ्चालन गरिने अध्यक्ष मुक्तानले बताए ।

