Search
Close this search box.

बालबिवाह न्यूनीकरणमा कैलाशः २० वर्ष पूरा गरी बिहे गर्नेलाई २० हजार

कैलाश– मकवानपुरको विकट कैलाश गाउँपालिकाले बाल बिवाह न्युनीरकणका लागि बिगतका वर्षदेखि नै सुरु गरेको चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने क्रममा १६ औँ अधिवेशनकाबीच ७ जना चेलीलाई नगदसहित सम्मान गरेको छ । कम्तिमा दस जोड दुई पास गरी २० वर्ष उमेर पार भएपछि मात्र बिवाह गर्ने चेलीलाई गाउँपालिकाले प्रतिव्यक्ति २० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

मंगलबार गाउँपालिकाको १६ औँ अधिवेशनका अवसरमा ७ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा कैलाश–६ की पार्वती सुवेदी, ५ नम्बर वडाकी कमला श्रेष्ठ, १० नम्बर वडाकी एलिना मोक्तान, सविना मोक्तान, सर्मिला मोक्तान, ९ नम्बर वडाकी सानुमाया स्याङ्तान र राधिका तितुङ रहेका छन् । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान उपाध्यक्ष बालकुमार मल्ललगायतले उनीहरुलाई नगदसहित सम्मान गरेका हुन् ।
बिहे गर्नको लागि कम्तिमा पनि १० जोड २ पास गर्नुपर्छ र २० बर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन गर्न बजेटमा कार्यक्रमको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष मोक्तानले बताए । गाउँपालिकाले हरेक वर्ष चेली प्रोत्साहन कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको छ । गाउँपालिकाले हरेक वर्ष हिउँदे र बर्खे गाउँसभाका बीच तोकिएको शिक्षा र उमेर पूरा गर्ने चेलीलाई नगदसहित सम्मान गर्ने गरेको छ । गत माघमा भएको १५ औँ अधिवेशनमा पनि ७ जनालाई सम्मान गरिएको थियो । गाउँपालिकाले ३ वर्षको अवधिमा ३५ जना चेलीलाई नगदसहित प्रोत्साहन प्रदान गरिसकेको जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan