Search
Close this search box.

राक्सिराङले बढायो ९ करोड बजेट, कोदोको रक्सी ब्रान्डिङ, पत्रु खाना निषेध

हेटौँडा–मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि झण्डै ९ करोड रुपैयाँ बृद्धि गरी बजेट सार्वजनिक गरेको । मंगलबार भएको गाउँसभामा उपाध्यक्ष वनस्तम थिङले ६३ करोड ५२ लाख ३१ हजार रुपैयाँको आम्दानी र खर्चको अनुमान पेश गरेका थिए । जुन चालु वर्षको तुलनामा ८ करोड ९० लाख ५८ हजार रुपैयाँले बढी हो । राक्सिराङको चालु वर्षमा ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

राक्सिराङले आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ । स्रोत व्यवस्थापनको लागि गाउँपालिकाले संघीय सरकारबाट विभिन्न अनुदानबापत ४३ करोड ८९ लाख ७८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ भने आन्तरिक स्रोतबाट ९ करोड ४ लाख ३० हजार रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ । प्रदेश सरकारबाट प्राप्त अनुदान १० करोड ५८ लाख २२ हजार रुपैयाँ हुने अनुमान छ ।

कोदोको रक्सी ब्रान्डिङ, पत्रु खाना निषेध
राक्सिराङ गाउँपालिकाले कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने भएको छ । ‘कोदोको रक्सी ब्रान्डिङ प्रोत्साहन, खोज अनुसन्धान’ शीर्षकमा गाउँपालिकाले ५ लाख रुपैयाँ बजेटको समेत व्यवस्था गरेको छ ।

घरेलु मदिरा ब्रान्डिङका लागि प्रोत्साहन गर्ने बागमती प्रदेश सरकारले समेत नीति लिएको छ । रैथाने अन्नबालीको खेती, उत्पादन र ब्यवसायीकरण गरी आर्थिक उपार्जनका लागि कोदोको रक्सी ब्रान्डिङ गर्ने योजना बनाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लको भनाइ छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा गाँजाको बैधानिक खेतीका लागि पहल गर्न गाँजा बहस कार्यक्रम सञ्चालन गर्ने पनि उल्लेख छ ।
यस्तै गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि पालिकाभित्र पत्रु खाना (जंक फुड)को बिक्री वितरणमा नियन्त्रण गर्ने नीतिलाई निरन्तरता दिएको छ । चालू आर्थिक वर्षमा पनि गाउँपालिकाले पालिकाभित्र पत्रु खाना बिक्री–वितरणमा रोक लगाउने जनाएको थियो ।

गाउँपालिकाका अध्यक्ष मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रैथाने खाद्य वस्तुको उत्पादन र प्रयोगमा जोड दिँदै पत्रु खानालाई क्रमशः नियन्त्रण गरी अन्ततः प्रतिबन्ध लगाउने नीति उल्लेख गरिएको छ । गाउँपालिकाले ‘एक टोल एक उत्पादन’को लक्ष्य पनि राखको छ । गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदानसमेत दिने भएको छ । दुर्गम तथा विकट भौगोलिक अवस्थाका कारण ट्याक्टर नलाग्ने र पशु पाल्दा गोबर मलसमेत उत्पादन हुने भएकाले कृषि उत्पादन बढाउने लक्ष्यका साथ हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम दिने नीति गाउँपालिकाले लिएको अध्यक्ष मल्लले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan