हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषधसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। हेटौंडा – १५ रातोमाटे चेकप्वाईन्टस्थित पुर्वपश्चिम सडकखण्डबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भारत बिहार राज्य मोतीहारी जिल्ला पंचमिडिया बस्ने वर्ष २६ को उपेन्द्र यादव, सोही कारमा सवार भई आएका सोही स्थान बस्ने वर्ष २२ को संजित कुमार यादव र वर्ष ३५ को सिकिन्दर महतो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार बुधबार बिहान ६ बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले रातोमाटे चेकप्वाईन्टस्थित पुर्वपश्चिम सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा भारतको मोतीहारीबाट काठमाण्डौतर्फ जान आउँदै गरेको BL01AW1404 नम्बरको भारतीय कारलाई रोकी खानतलासी गर्ने क्रममा कारको सिटमुनी र पछाडीको डिकी भित्र फल्स बटम बनाई लुकाई छिपाई राखी ल्याईएको अवस्थामा लागूऔषध ट्रमाडोल२५,४५५ क्यापसुल र ओनेक्स १२० बोतल फेला परेको हो।
उक्त लागूऔषध तथा सवारी साधन बरामद गरी यादव, यादव र महतोलाई नियन्त्रणमा लिई लागूऔषध कसुर मुद्धामा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

