हेटौंडा । हेटौंडामा पहिलोपटक रोजगारीमा जोड्ने लक्ष्यसहित ‘रोजगार महोत्सव’ आयोजना हुने भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त पहलमा श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोगमा असार १४ र १५ गते हेटौंडा–२ स्थित पल्पसा सभागृहमा हुन लागेको हो।
जिल्लाका दर्जनौ युवालाई रोजगारीको अवसर दिने अपेक्षा गरिएको कार्यक्रममा तीन दर्जनभन्दा बढी स्वदेशी तथा विदेशी उद्योग प्रतिष्ठानको सहभागिता रहने बुधबार पत्रकार सम्मेलनमार्फत मकवानपुर उद्योग वाणिज्यसंघका अध्यक्ष प्रमोदसिंह रानाभाटले जानकारी दिए ।
कार्यक्रम प्लस टु तहका विद्यार्थी, अभिभावक, कलेज तहका युवा र रोजगार खोजीमा रहेका युवाहरुलाई लक्षित गरेर आयोजना गरिएको हो।
कार्यक्रमको औपचारिक उद्घाटन श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले असार १४ गते शनिबार गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।
महोत्सवमा सहभागी उद्योगहरुले अन द स्पट जब अफर अनुसार रोजगारी दिन सक्नेछन् भने व्यवसाय गर्न चाहने युवाहरुलाई व्यवसायिक परामर्श, बजारीकरण सम्बन्धी तालिम, तथा बैंक कर्जा प्रवाहको प्रक्रियासमेत जानकारी गराइनेछ। साथै, श्रम र रोजगारसँग सम्बन्धित विविध विषयमा विज्ञ तथा अनुभवी व्यक्तिहरुको सहभागितामा प्यानल डिस्कसन समेत आयोजना गरिनेछ।
करिब ३ दर्जन स्वदेशी एवं विदेशी उद्योग प्रतिष्ठान सहभागी हुने र ५ सय भन्दा बढिले प्रत्यक्ष रोजगारी पाउने सम्भावना रहेको जानकारी दिइएको छ। युवा तथा विद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा दुई हजार प्रत्यक्ष कार्यमा जोडिने अपेक्षा आयोजकको छ।
दुई दिने कार्यक्रममा करिब १५ लाख बराबरको खर्च आउने आयोजकको अनुमान छ।
