Search
Close this search box.

मनहरीमा एकैदिन पाँच वटा पूर्वाधार परियोजनाको उद्घाटन

मनहरी-मकवानपुरकाे मनहरी गाउँपालिकामा निर्मित विभिन्न पाँच वटा पूर्वाधार संरचनाकाे उद्घाटन गरिएकाे छ । नेपाली काँग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले बिहिबार मनहरी गाउँपालिका–६ का विभिन्न स्थानमा निर्माण सम्पन्न भएका  पूर्वाधारको उद्घाटन गरेका हुन् ।

मनहरी-६ स्थित रमौली प्रतापुरको १ किलोमिटर कालोपत्रे सडक, जोगीताल पक्की पुल, सुनाचुरी जोगीताल १ किलोमिटर सडक, तिलेश्वर मन्दिर र सुनाचुरी गुम्बाचोकस्थित क्लब भवन तथा जिम क्लबको उद्घाटन गरिएकाे हाे ।

संरचना उद्घाटनपछि बाेल्दै कांग्रेस सभापति एवम् बागमती प्रदेशसभा सदस्य बानियाँले मनहरी गाउँपालिकाको ६ नम्बर वडा अरु वडाभन्दा भौगोलिक दृष्टिले ठुलो र दुर्गम रहेको बताउँदै यस वडामा प्रदेश र स्थानीय तहको समन्वयमा विगतदेखि नै विभिन्न विकास निर्माणका योजना सञ्चालन हुँदै आएको बताए । ब्यक्तिको आस्था जुनसुकै पार्टीमा रहनसक्ने भएकाले जनप्रतिनिधिले जनता र गाउँको विकासमा राजनीति गर्न नहुने बताए ।

नेता बानियाँले चितवन राष्ट्रिय निकुञ्जबाट यहाँका स्थानीय जनताको विकासमा आएका अवरोधहरुलाई प्रदेश र स्थानीय तहसंग समन्वय गरेर समाधान गर्दै तटबन्ध, बाटो र अन्य पूर्वाधार निर्माणलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गर्दै वडा, पालिका र प्रदेश सरकारको समन्वयमा स्थानीय जनतालाई रोजगारी तथा आयआर्जनमा जोड्ने योजनामा जनप्रतिनिधिलाई आग्रह गरे ।

बागमती प्रदेश, मनहरी गाउँपालिका र वडाबाट बिनियोजित बजेटद्वारा निर्मित पूर्वाधारको उद्घाटन कार्यक्रम मनहरी ६ का वडा अध्यक्ष युवराज थपलियाको सभाध्यक्षता तथा नेता बानियाँको प्रमुख आतिथ्तयतामा भएको थियो ।

कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मनहरी ७ का वडा अध्यक्ष ठाकुरराम तितुङ, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलालगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan