Search
Close this search box.

मकवानपुरमा महिला संघभित्र विवादः अध्यक्षले विधानविपरीत कार्य गरेकाे भन्दै ध्यानाकर्षण


हेटौँडा– नेपाली कांग्रेसनिकट भातृ संस्था नेपाल महिला संघ मकवानपुरमा विवाद उत्पन्न भएको छ । बागमती प्रदेशससभा सदस्यसमेत रहेकी लक्ष्मी श्रेष्ठको अध्यक्षतामा रहेको महिला संघको पदाधिकारीले एकलौटी, अपारदर्शी र एकपक्षीय ढंगले क्रियाशील सदस्यता वितरण गरेको भन्दै आलोचना भएको हो ।

महिला संघकी सदस्यता वितरण समन्वय संयोजक ईन्दिरा न्यौपानेले सोमबार पत्रकार सम्मेलन गरी महिला संघ अध्यक्ष श्रेष्ठ र सचिव निलम देवकोटाले एकलौटी ढंगले सदस्यता वितरण गरेको र संगठनका पुराना र जिम्मेवार सदस्यहरुको समेत सदस्यता नवीकरण नगरेको भन्दै आपत्ति जनाएकी हुन् । संगठनकाे विधानविपरीत अपारदर्शी ढंगबाट सदस्यता वितरण गरी अधिवेशन गर्न लागिएकाे भन्दै कुनै पनि हालतमा यहि अवस्थामा अधिवेशन हुन नसक्ने पार्टी मकवानपुरकी सहसचिवसमेत रहेकी न्याैपानेले बताइन् ।

‘संगठनकाे सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्दा नगर समिति, क्षेत्रीय समिति सभापतिहरुले अनिवार्य प्रमाणित गर्नुपर्ने व्यवस्थाविपरीत नगर र क्षेत्रीय समितिलाई समेत बेवास्ता गरी संगठन अध्यक्ष र पदाधिकारी एकलाैटी ढंगले अघि बढेकाे भन्दै उनले आपत्ति जनाइन् । यसरी प्रमाणाीकरणबिनै सिफारिस गरिएकाे सदस्यता केन्द्रीय समितिले स्वीकृत नगर्ने भएकाले यहि अवस्थामा जिल्ला अधिवेशन नै हुन नसक्ने उनले बताइन् ।

पार्टी जिल्ला सभापति बुद्ध लामाले पार्टीकाे एउटा भातृ संगठनकाे रुपमा रहेकाे संस्थाले पार्टीकाे निर्देशन र विधानविपरीत काम गरिए अन्य विकल्प अपनाउने बताए । उनले भने-‘संगठनकै क्रियाशील वितरणबारे मनलाग्दी गर्ने र पार्टीलाई नै अटेर गरे पार्टीकाे पनि क्रियाशील नवीकरणकाे सबाल हुन्छ, त्यसबारे के गर्ने भन्नेबारे हामी साेच्छाैँ ।’

संगठन जिल्ला अध्यक्षलगायत पदाधिकारीले  सीमित व्यक्तिहरुको बीचमा सदस्यता वितरण गरी आम महिला संघका पुराना क्रियाशिल सदस्य एवं सक्रिय महिला सदस्यलाई सदस्यता प्राप्तिमा बञ्चित गरेकाे भन्दै संगठन सदस्यता वितरण समन्वय संयोजक ईन्दिरा न्यौपानेले आफ्नै समेत सदस्यता नवीकरण नगरिएकाे भन्दै आश्चार्य व्यक्त गरिन् । संगठनकाे क्षेत्र नम्बर १ कि  सभापति तारा कार्की, क्षेत्रीय काेषाध्यक्ष सीता गिरी, हेटाैँडा नगर सभापति लक्ष्मी गाैतमलगायत जिल्ला सदस्यहरुकाे पनि सदस्यता नवीकरण नगरिएकाे उनले बताइन् ।

घटनाप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । ‘एकपक्षीय र अपारदर्शी ढंगबाट वितरण गरिएको सदस्यताप्रति पार्टी पूर्ण असहमत रहेको र सम्पन्न गर्ने भनिएको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशनमा पार्टीको कुनै पनि तहका नेतृत्व संलग्न नरहने भएकोले अधिवेशनका सबै कार्यक्रम स्थगन गरी पार्टीको जिल्ला नेतृत्वसंग आवश्यक छलफलका लागि निर्देशन गरिन्छ ।’ जारी विज्ञप्तिमा भनिएकाे छ । यसबारे महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठसँग सम्पर्क गर्दा उनकाे फाेन उठेन ।

पत्रकार सम्मेलनमा पार्टी जिल्ला सभापति वुद्ध लामा, पूर्वसभापति रघुरमण न्याैपाने, उपसभापति आनन्द कठायत, क्षेत्र नम्बर १ का सभापति दामाेदर खनाललगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan