Search
Close this search box.

मकवानपुरबाट १० महिनामा ३ हजार महिला विदेशिए

हेटौँडा–मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ३ हजार जना महिला वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । यो तथ्यांक चालु आर्थिक वर्ष २०८१/०८२ को चैत महिनासम्मको हो ।

सुरक्षित आप्रवासन परियोजना (सामी) मकवानपुरले रोजगारको शिलशिलामा विदेशिने पुरुषको तुलनामा महिलाको संख्या बढ्दो क्रममा रहेको जनाएको छ । बिहीबार सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमकाबीच सामीले तथ्यांक सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको तथ्यांकअनुसार २०८१ साउनदेखि चैत मसान्तसम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुमा पुरुष ८ हजार २ सय ५७ र महिला ३ हजार रहेका छन् । रोजगारीमा जानेको संख्या पुरुषको बढी भएता पनि वार्षिक तथ्यांकको आधारमा विदेशिने महिलाको संख्या तुलनात्मक रुपमा बढ्दो क्रममा रहेको सामी परियोजना मकवानपुरकी संयोजक अञ्जिता थापा मगरले बताइन् ।

चालू आर्थिक वर्षमा स्रोत केन्द्रबाट ७ हजार २ सय ६६ जनामा सुरक्षित वैदेशिक रोजगार बारे सूचना प्रवाह गरिएको र जसमा ८७ प्रतिशतको उदेश्य वैदेशिक रोजगारीको रहेको उनले बताइन् । सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श, वित्तीय र वित्तीय साक्षरता लगायतका क्षेत्रमा सामी परियोजनामार्फत सेवाहरु उपलब्ध हुँदै आएको छ । सामी परियोजनामा चालु वर्षको १० महिनामा ५३ वटा ठगीका घटनाहरु आएको र जिल्ला प्रशासन कार्यालय मकवानपुरसहित वैदेशिक रोजगार विभाग कार्यालयको सहजीकरणमा ३२ वटा घटना समाधान गरिएको बताइएको छ ।

वैदेशिक रोजगारीका लागि विशेषत सयुक्त अरब इमिरेट्स, साउदी अरेविया, कतार, मलेसिया, कुवेत, क्रोयसिया, रोमानीया, जापान, कोरिया र बहराईनका लागि विदेशिने गरेको पाइएको बताइएको छ । अभिमुखीकरण कार्यक्रममा सामी परियोजनाका फोखल पर्सन भीम प्रसाद तिमल्सिनाले वैदेशिक रोजगारीको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण दिएका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan