हेटौँडा– बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको छलफल सुरु भएको छ । छैठौँ अधिवेशनको १५ औँ बैठक आज केहीबेरअघि सुरु भएको छ ।
असार १ गते प्रदेशसभामा पेश भएको बजेटमाथि विपक्षी दल र सत्ता पक्षकै असन्तोषका कारण छलफलसमेत हुन सकेको थिएन । आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले असार १ गते प्रदेशसभामा बजेट पेश गरेकोमा त्यसयता बजेटमाथिको छलफलका लागि पटकपटक प्रदेशसभाको बैठक बोलाइए पनि सत्ता पक्षसमेतका सांसदको विरोधका कारण बैठक बस्न सकेको थिएन । लामो छलफलपछि बिहीबार बोलाइएको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारको बजेट असन्तुलित भएको भन्दै सच्याउने प्रतिवद्धता मुख्यमन्त्रीले गर्नुपर्ने माग गरेको थियो ।
बिहीबारको बैठकमा माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बजेट सच्याउनेबारे सरकारको प्रतिबद्धता मागेका थिए । मुख्यमन्त्री बहादुरसिं लामाले बजेटमा प्रतिपक्षको सुझावलाई सच्याउने प्रतिवद्धता जनाएका थिए । जारी प्रदेशसभा बैठकमा नेमकिपा सांसद सुरेन्द्रराज गोसाईँ, माओवादी सांसद युवराज दुलाल, नेकपा समाजवादीका सांसद लक्ष्मण लम्साल, काँग्रेसका प्रभात तामाङ, बीरबहादुर तामाङले धारणा राखेका छन् । अन्य सांसदले बोल्ने क्रम जारी छ ।
