हेटौँडा– हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू प्रमुख जिल्ला अधिकारी (सीडीओ) स्किम श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वराज खड्काविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिमाथि भएका आक्रमणका घटनामा संलग्न व्यक्तिहरूलाई एक महिनासम्म पनि पक्राउ गर्न नसकेको भन्दै हेटौंडाका मेयर, उपमेयर तथा १९ वटै वडाका वडाध्यक्षहरू विरोधमा उत्रिएका हुन् । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष सविन न्यौपानेले स्थानीय प्रशासन र सुरक्षानिकायको कमजोरीका कारण जनप्रतिनिधिहरू असुरक्षित महसुस गर्न थालेको बताए । ‘वडामा बसेर सेवा दिन असुरक्षित महसुस भयो, त्यसैले अब वडा कार्यालयको सेवा जिल्ला प्रशासन कार्यालय परिसरबाटै दिने निर्णय गरेका छौं,’ उनले भने ।
गत ४ असारमा वडा नं. १ को सार्वजनिक जग्गा संरक्षणको प्रयासका क्रममा न्यौपानेमाथि चार जनाको समूहले कार्यालयमै आक्रमण गरेको थियो । टाउकोमा चोट लागेका न्यौपानेमाथि भएको आक्रमणको एक महिना बितिसक्दा पनि दोषीहरू पक्राउ नपरेकोप्रति उनी आक्रोशित छन् ।
वडाध्यक्ष न्यौपानेले सार्वजनिक रूपमा प्रशासन र प्रहरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भने,‘‘जनप्रतिनिधिले न्याय पाउँदैन भने सर्वसाधारणको अवस्था के होला ?’ वडाध्यक्ष रामकृष्ण कोइरालाले भने, ‘आक्रमणकारी अझै पक्राउ परेका छैनन् । यो प्रशासन र सुरक्षा निकायको असक्षमता हो । जनप्रतिनिधिको सुरक्षा नभएपछि सर्वसाधारण कसरी सुरक्षित होलान् ? ’
सीडीओ स्किम श्रेष्ठ आफ्नो कार्यशैलीका कारण विगतमा पनि विवादमा परेकी थिइन् । हेटौंडा अस्पतालविरुद्ध भएको आन्दोलनमा कठोरता देखाएको भन्दै सडक प्रदर्शनसम्म भएको थियो । त्यसक्रममा पत्रकारमाथि व्यवहार र फोटो भिडियो खिच्न निषेध गरिएको घटनाले समेत उनलाई आलोचनामा पारेको थियो । पत्रकार महासंघ मकवानपुर शाखाले पनि श्रेष्ठसँग औपचारिक क्षमायाचना गर्न आग्रह गरिसकेको छ।
प्रहरीका अनुसार घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको थियो तर परीक्षाका लागि भन्दै उनलाई हिरासतबाट छाडिएको जनाइएको छ। बाँकी व्यक्तिहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुई दिनको चेतावनी, थप आन्दोलनको तयारी
वडाध्यक्षहरू अब दुई दिनसम्म जिल्ला प्रशासन कार्यालयमै टेवल राखेर सेवा दिनेछन्। त्यसपछि पनि दोषी पक्राउ नगरिए थप कडा आन्दोलनको घोषणा गर्ने उनीहरूको चेतावनी छ।

