हेटौँडा–कोरोना र आर्थिक मन्दीले केही थलिएको मकवानपुरको निर्यात व्यापारमा सामान्य सुधार आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा मकवानपुरका निर्यातजन्य उद्योगहरुबाट करिब साढे ६६ करोड रुपैयाँको सामाग्री भारतलगायत तेस्रो मुलुकमा निकासी भएको छ । पछिल्ला वर्षहरुमा मकवानपुरबाट निर्यात गर्ने उद्योगहरुको संख्या र निर्यात व्यापार खुम्चँदै गएकोमा अघिल्लो आर्थिक वर्षको तुलनामा बितेको आर्थिक वर्ष २०८१/०८२ मा करिब साढे ७ करोड रुपैयाँले निर्यात व्यापारमा वृद्धि भएको पाइएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा ६ वटा उद्योगमार्फत ५९ करोड २१ लाख ५१ हजार रुपैयाँको सामाग्री भारतलगायतका अन्य मुलुकमा निर्यात भएकोमा बितेको आर्थिक वर्ष २०८१/०८२ मा केही सुधार भई निर्यात व्यापार ६६ करोड ६४ लाख ७२ हजार रुपैयाँमा पुगेको छ । आव २०८१/०८१ मा मकवानपुरबाट ६ वटा उद्योगहरुले निर्यात गरेकोमा गत आर्थिक वर्ष २०८१/०८२ मा २ उद्योग थपिएका छन् । केही वर्षअघिदेखि निर्यात बन्द गरेको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल पनि गत वर्ष निर्यातजन्य उद्योगको सूचीमा समावेश भएको छ भने जिल्लाबाट सिद्धिश्री इन्डष्ट्रिजले पनि गत वर्षदेखि निर्यात सुरु गरेको पाइएको छ ।
भारत लगायत मुलुकमा निर्यात गर्दा उत्पत्तीको प्रमाणपत्र जारी गर्ने निकाय मकवानपुर उद्योग वाणिज्यको तथ्यांकअनुसार मकवानपुरको निर्यात व्यापारको करिब ५० प्रतिशत हिस्सा प्याक्ट ग्रुप क्लोजर सिस्टम नेपाल प्रालिले ओगटेको छ । बहुराष्ट्रिय उद्योगहरुको पेय पदार्थको बिर्को उत्पादन गरी भारत निर्यात गर्ने गरेको कम्पनीले ३२ करोड ५४ लाख रुपैयाँको बिर्को भारतमा निर्यात गरेको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०८०/०८१ मा पनि ३० करोड ७४ लाख रुपैयाँको सामाग्री भारत निकासा गरेको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघका कार्यकारी सचिव पवन कार्कीका अनुसार पानमा प्रयोग हुने मसला निर्यात गर्ने हिमालय कत्थाले पनि मकवानपुरको निर्यात व्यापारमा उल्लेख्य योगदान दिँदै आएको छ । कम्पनीले बितेको एक आर्थिक वर्षमा २५ करोड ८२ लाख रुपैयाँको पानमा हाल्ने मसला भारत निर्यात गरेको छ । आव २०८०/०८१ मा कम्पनीको निर्यात व्यापार २३ करोड ७५ लाख रुपैयाँ थियो ।
ट्रान्सफर्मर निर्माण गरी भारतलगायतका मुलुकमा निर्यात गर्ने नेपाल इकरात इन्जिनियरिङ प्रालिको निर्यातमा पनि वृद्धि हुँदै गएको छ । केही वर्षअघिदेखि निर्यातमा सुस्ताएको कम्पनीले बितेको आर्थिक वर्षमा ४ करोड ५ लाख रुपैयाँको ट्रान्सफर्मर बाह्य देशमा पठाएको छ । कोरोनापछि केही वर्ष निर्यात नै बन्द भएको कम्पनीको २०८०/०८१ मा २४ लाख ९२ हजार रुपैयाँको सामाग्री निर्यात भएको थियो । स्थानीय जडिबुटीको प्रयोग गरी क्यान्सरको औषधि उत्पादन गर्ने इभान्स लाईफ साइन्सेस प्रालिले गत वर्ष ३ करोड ५९ लाख रुपैयाँको औषधि निर्यात गरेको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
यसवर्षबाट निर्यात व्यापार सुरु गरेको सिद्धिश्री इन्डष्ट्रिज प्रालिले ४० लाख रुपैयाँको सामाग्री निर्यात गरेको छ । युनिलिभर नेपालले ६ लाख रुपैयाँको सामाग्री विदेश पठाउँदा रिद्धिसिद्धि सिमेन्टले २ लाख १७ हजार रुपैयाँको निकासी गरेको छ । यस्तै सिक्स भिल्ला प्रालिले १३ लाख ७१ हजार रुपैयाँको सामाग्री निर्यात गरेको छ ।