हेटौंडा- मकवानपुर प्रहरीले ठुलो परिमाणमा लागूऔषध बरामद गरेको छ। हेटौंडाबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिँदै ९ हजार क्याप्सुल ट्रामाडोल बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, साउन १२ गते साँझ करिब ८ बजे हेटौंडा उपमहानगरपालिका–१३ आदामारस्थित सडकमा शंकास्पद रूपमा हिँडिरहेका ३० वर्षीय प्रविन लामालाई रोकी खानतलासी गर्दा ३ हजार क्याप्सुल ट्रामाडोल फेला परेको थियो।
प्रहरीका अनुसार प्रारम्भिक बयानमा लामाले उक्त लागूऔषध हेटौंडा–१२ बस्ने एक व्यक्तिसँग खरिद गरेको बताएका थिए। त्यसपछि प्रहरीले विक्रेताको खोजी गर्ने क्रममा लागूऔषध बिक्री गर्न आएका अर्का व्यक्ति प्रहरीलाई देखेपछि साथमा बोकेको झोला फालेर फरार भएको जनाइएको छ।
फालिएको झोलाबाट थप ६ हजार क्याप्सुल ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ। हाल पक्राउ परेका लामालाई जिल्ला अदालत मकवानपुरबाट म्याद लिई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। साथै फरार व्यक्तिको खोजी कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ।

