Search
Close this search box.

कांग्रेस संसदीय दलको नेता चयनको प्रक्रिया सुरु, नेता बानियाँको मनोनयन दर्ता

काठमाडौँ– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनको प्रक्रिया सुरु भएको छ । दलको नेता बन्नको लागि ईन्द्रबहादुर बानियाँले मनोनयन दर्ता गराएका छन् । मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामाले विश्वास गुमाएपछि बागमती कांग्रेसमा दलको नेता चयनका लागि आज प्रदेश राजधानी हेटौंँडामा मतदान हुँदैछ ।

बानियाँको प्रस्तावकमा यांकिला शेर्पा रहेकी छन् भने समर्थकमा कृष्णकुमार तामाङ रहेका छन् । निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारका लागि दरखास्त दर्ता कार्यक्रम बिहान ११ बजेसम्मका लागि तोकिएको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले बताए । उम्मेदवारहरूको प्रारम्भिक नामावली ११ः३० बजे प्रकाशित गरिनेछ भने उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।

संसदीय दलको नेताको निर्वाचन प्रक्रियाको मतदानका कार्य कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ भने मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ । मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु गरिने र सोही दिन निर्वाचन परिणाम घोषणा गरिने जनाइएको छ । निर्वाचन समितिको सदस्यहरूमा ऋषिराम घिमिरे र जीवन ढुङ्गेल रहेका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan