Search
Close this search box.

कांग्रेस संसदीय दलको निर्वाचनमा बानियाँ र लामाबीच प्रतिष्पर्धा हुँदै

हेटौँडा– नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनको लागि भएको निर्वाचन प्रक्रियामा प्रदेश सांसद ईन्द्रबहादुर बानियाँ र वर्तमान मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गराएका छन् । संसदीय दलका नेता रहेका लामामाथि बहुमत सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरी मंगलबार प्रस्ताव पारित भएसँगै दलको नेता चयनको लागि निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।

दलको नेता चयनका लागि गठित निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार लामा र बानियाँले उम्मेदवारी दर्ता गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलको नेताका चयनका लागि प्रदेशसभा परिसरमा निर्वाचन समितिको कार्यालय स्थापना गरिएको छ । निर्वाचन कार्यतालिकाबमोजिम बानियाँले बिहान १० बजे र लामाले १०ः५० बजे उम्मेदवारी दर्ता गराएका थिए । दलको नेताको लागि दिउँसो २ बजेदेखि ३ बजेसम्म समय तोकिएको छ ।

मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामाले विश्वास गुमाएपछि बागमती कांग्रेसमा दलको नेता चयनका लागि आज प्रदेश राजधानी हेटौंँडामा मतदान हुन लागेको हो । उम्मेदवारहरूको प्रारम्भिक नामावली ११ः३० बजे प्रकाशित गरिनेछ भने उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।

संसदीय दलको नेताको निर्वाचन प्रक्रियाको मतदानका कार्य कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ भने मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ । मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु गरिने र सोही दिन निर्वाचन परिणाम घोषणा गरिने जनाइएको छ । निर्वाचन समितिको सदस्यहरूमा ऋषिराम घिमिरे र जीवन ढुङ्गेल रहेका छन् । बागमती प्रदेशमा नेपाली काँग्रेसका ३७ जना सांसद रहेका छन् । जसमध्ये बुधबार २२ जना सांसदले वर्तमान दलका नेता बहादुरसिं लामामाथि अविश्वास रहेको भनी हस्ताक्षर गरेका थिए । लामाको पक्षमा १५ जना सांसदमात्र उभिएका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan