Search
Close this search box.

बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिँदै

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज राजीनामा दिने तयारी गरेका छन् । लामाको राजीनामासँगै नेपाली काँग्रेस संसदीय दलका नवनिर्वाचित नेता ईन्द्रबहादुर बानियाँको नेतृत्वमा नयाँ सरकार गठनको बाटो खुल्ने भएको छ ।

गत साउन १४ गते भएको काँग्रेस संसदीय दलको निर्वाचनमा पराजित भएपछि मुख्यमन्त्री छाड्नुपर्ने दबाबकाबीच लामाले राजीनामा दिन लागेका हुन् । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाको सहजीकरणमा लामा र बानियाँबीच मन्त्रालय भागबण्डा र सरकार सञ्चालनका विषयमा सहमती बनेको बताइएको छ । सहमती अनुसार बानियाँको नेतृत्वमा बन्ने सरकारमा लामा पक्षका ३जना मन्त्री नियुक्त हुनेछन् । लामाले यसअघि नै नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ खुवाउने गरी तयारी भएको बताइएको छ ।

लामाले यसअघि कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतकसमेत रहेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरूको गत बुधवार नै सपथको तयारी गरेपनि सत्ता साझेदार दल नेकपा एमालेको असहमतिमा सपथ ग्रहण रोकिएको थियो । त्यसको भोलिपल्ट बिहीवार १ बजे सपथ तय भए पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आकस्मिक रूपमा बिरामी भएर काठमाडौं हिँडेपछि सपथ हुन सकेको थिएन ।

काँग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा आइतबार हेटौंडा फर्किए उनलाई राजीनामा बुझाउने र उनी हेटौंडा नफर्किए पनि कार्यालयमा राजीनामा पत्र दर्ता गरिने जानकारी दिए ।

लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री कांग्रेस दलको नेताको रूपमा इन्द्र बानियाँ हुनेछन् । सत्तासाझेदार दल नेकपा एमालेसँग एक वर्षअघि सरकारको नेतृत्व गर्ने समयावधिको सहमतिअनुसार अब हुने भनिएका मुख्यमन्त्री बानियाँले ८ महिना सरकार सञ्चालन गर्नेछन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan