हेटौँडा–बागमती प्रदेशको छैठौँ मुख्यमन्त्रीको रुपमा नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ नियुत्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मंगलबार बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री बानियाँको सपथ ग्रहण कार्यक्रम अहिले ४ बजेको लागि राखिएको छ । प्रमुखको कार्यालयमा मुख्यमन्त्री नियुक्तिका लागि नेपाली काँग्रेस र नेकपा एमालेले सोमबार बहुमत प्रदेशसभा सदस्यसहित औपचारिक दाबी पेश गरेका थिए । कांग्रेसका प्रदेश सभापति समेत रहेका बानियाँले पार्टीका ३७ जना सांसद र सत्ता गठबन्धनको प्रमुख साझेदार नेकपा एमालेका २७ सांसदसहित ६४ जनाको समर्थन जुटाएर मुख्यमन्त्रीको दाबी गरेका हुन् । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको बहुमत आवश्यक पर्छ ।
यसअघि मुख्यमन्त्री रहेका बहादुरसिंह लामाको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि सोमबार आह्वान गरेका थिए । निर्धारित समयावधि अनुसार मंगलबार दिउँसो २ बजेसम्म दाबी पेश गर्न आह्वान गरिएकोमा सो समयसीमा पछि बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

