Search
Close this search box.

कांग्रेस बागमतीको मुख्य सचेतकमा कञ्चनचन्द्र बादे

हेटौंडा — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रमुख पदहरूमा नयाँ नियुक्ति गरेको छ। काभ्रे निर्वाचन क्षेत्र नम्बर २(ख) बाट निर्वाचित सांसद कञ्चनचन्द्र बादेलाई संसदीय दलको मुख्य सचेतकमा नियुक्त गरिएको छ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस बागमती संसदीय दलको विधान दफा ११ को उपदफा १ अनुसार बादेलाई मुख्य सचेतकको जिम्मेवारी दिएका हुन्।

यसअघि साउन १३ गते तत्कालीन दल नेता बहादुर सिंह लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएको थियो। त्यसपछिको साउन १४ गते भएको निर्वाचनमा बानियाँले २२ मत ल्याई दलको नेता चयन भएका थिए। कांग्रेसका ३७ सांसदमध्ये बहुमतको समर्थन पाएसँगै बानियाँ दल नेता बनेका थिए।

मुख्य सचेतक पद रिक्त रहेकाले बानियाँले सांसद बादेलाई सो जिम्मेवारी दिएका हुन्। बादे कांग्रेस बागमती प्रदेश समिति महासचिव पनि हुन् । त्यस्तै, ललितपुर निर्वाचन क्षेत्र नम्बर १(क) बाट निर्वाचित सांसद मीनकृष्ण महर्जनलाई दलको सदस्य सचिवमा नियुक्त गरिएको छ। विधानको दफा १० को उपदफा ८ बमोजिम महर्जनलाई यो जिम्मेवारी दिइएको हो ।

पूर्व युवा तथा खेलकुद मन्त्रीसमेत रहेका महर्जनले दलको नेताको निर्वाचन र अविश्वास प्रस्तावको समयमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । यद्यपि मुख्यमन्त्री बानियाँले संसदीय दलको उपनेता र कोषाध्यक्ष भने हालसम्म नियुक्त गरेका छैनन्। तर उनले विधानको दफा ९ को उपदफा २ को खण्ड (ख) अनुसार संसदीय दलको कार्यसमिति गठन गरिसकेका छन् ।

साउन २० गते मुख्यमन्त्री बनेका बानियाँले आगामी साता विश्वासको मत लिने तयारी गरिरहेका छन्। त्यसैअनुसार दल गठन र प्रमुख पदहरूमा नियुक्ति गरिएको हो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan