हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी साउन २७ गते प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन्। एमाले–कांग्रेस गठबन्धनको तर्फबाट सत्ताको नेतृत्व गरिरहेका बानियाँले संविधानको व्यवस्था अनुसार निर्धारित म्यादभित्र विश्वासको मत लिने तयारी गरेका हुन्।
मुख्यमन्त्री बानियाँले प्रदेशसभा सचिवालयलाई साउन २७ गतेका लागि बैठक आह्वान गर्न अनुरोध गरिसकेका छन्। उनी साउन २० गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। सोही अनुसार, नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
अब संविधानको धारा १६८(४) र प्रदेशसभा नियमावली २०७४ को नियम १४३(१) बमोजिम उनी विश्वासको मत लिन अघि बढेका हुन्।
मुख्यमन्त्री बानियाँले सभामुख भुवनकुमार पाठकलाई बैठक आह्वान गर्न जानकारी गराइसकेका छन्। सभामुख पाठकले मिति तय भए पनि औपचारिक पत्रको पर्खाइमा रहेको र सोही अनुसार बैठकको समय तय गरिने जानकारी दिएका छन्।
साउन २० मा कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनसहित ६४ बहुमतले मुख्यमन्त्री बनेका बानियाँ त्यसअघि आफ्नै दलका तत्कालीन नेता बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव ल्याएर नेतृत्वमा पुगेका थिए। लामालाई दल नेताबाट हटाएर बानियाँले मुख्यमन्त्रीको कुर्सी सम्हालेका हुन्।
सत्ता सम्हालेको केही दिनमै बानियाँले एक विना विभागीय मन्त्रीसहित कांग्रेसका २ र एमालेका ६ मन्त्री सरकारमा समावेश गराइसकेका छन्। अब विश्वासको मत प्राप्त गरेर उनले सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

