Search
Close this search box.

फोनिज मकवानपुरले मनायो २६ औं स्थापना दिवस

हेटौँडा – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० मकवानपुर शाखाले स्थापना दिवस मनाएको छ । मंगलबार हेटौँडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरी २६ औं स्थापना दिवस मनाइएको हो ।

“समृद्धिको आधारः पूर्ण समावेशी सञ्चार” भन्ने मूल नाराका साथ आयोजित प्रभातफेरी कार्यक्रम फोनिज मकवानपुरका अध्यक्ष नवराज वाईबाको सभाध्यक्षता तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष एवम् फोनिज मकवानपुरका सल्लाहकार कृष्ण सारु मगरको प्रमुख आतिथ्यतामा भएको हो । प्रभातफेरी कार्यक्रम हेटौँडाको सिमाचोकबाट सुरु भई बुद्धचोक, उद्योग वाणिज्य चोक हुँदै पुनः सिमा चोकमा नै पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मगरले सञ्चारको क्षेत्रमा आदिवासी जनजातिको आवाज अझ प्रभावकारी बनाउन फोनिजले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

उनले फोनिज पत्रकारिताको दिगो विकास र यस पेशामा आबद्ध सबै पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम र कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । साथै उनले जिम्मेवार र उत्तरदायी भएर पेशामा क्रियाशील हुन सबै पत्रकारलाई आग्रह गरे । फोनिजका केन्द्रीय पार्षद् एवम् पत्रकार महासंघ बागमतीका सदस्य सुर्वणलाल श्रेष्ठले स्थापना दिवसको अवसरमा शुभकामना दिँदै पत्रकारको अधिकारका लागि महासंघ सदैब लागि परिरहेको बताए । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानलगायत उल्लेखनीय उपलब्धी प्राप्त हुनुमा जनजाती पत्रकारहरुको पनि भूमिका रहेको उल्लेख गरे ।

कार्यक्रममा फोनिज बागमतीका उपाध्यक्ष दिलबहादुर रुम्बा, सचिव एवम् सञ्चारिका समुह मकवानपुरकी अध्यक्ष निशा गुरुङ, प्रेस चौतारी मकवानपुरका इन्चार्ज विवश अधिकारी लगायत फोनिजकर्मीहरुको सहभागिता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan