हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा विकास निर्माणका कामलाई तीव्रता दिई जनतालाई देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले जनतालाई सरकारी सेवामा छिटो र सहज पहुँच वृद्धि गराउने बताउँदै नेपाली काँग्रेसलाई २०८४ सालमा पनि पहिलो ठुलो दल बनाउने बताएका छन् ।
काँग्रेस थाहा नगरपालिका र मकवानपुर संघीय क्षेत्र नम्बर २ को (क) को संयुक्त आयोजनामा बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई थाहानगरको पालुङमा आइतबार स्वागत तथा सम्मान गर्ने क्रममा काँग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका मुख्यमन्त्री बानियाँले आफूले जनताको करबाट उठेको पैसाले पाउने सेवासुविधाबाट आफ्नो निर्वाचन क्षेत्रमा रहेका गरिव विपन्न परिवारलाई दशैं अगावै आवास बनाउने बताउँदै बागमती प्रदेश सरकारले जनताले प्रत्यक्षरुपमा अनुभव र देखिनेगरी सेवा दिने कार्य गर्ने बताए ।
गणतन्त्रभित्र सबै विचार र ब्यवस्थालाई मिलाएर लैजानुपर्ने भएकाले गफले हैन काम गरेर देखाउनुपर्ने अवस्था रहेकाले मुख्यमन्त्री बानियाँले अब जनप्रतिनिधिहरुले पार्टीसंग समन्वय गरेर आम जनताको समस्या समाधानका साथै स्थानीय आवश्यक्ता हेरेर विकास निर्माणमा लाग्नुपर्ने बताए ।
कांग्रेस थाहानगर सभापति प्रमोद जोशीको सभाध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा कांग्रेस थाहानगरका पदाधिकारी, सदस्य तथा क्रियाशीलहरुको उपस्थिति थियो ।

