Search
Close this search box.

मनहरीले मुख्यमन्त्रीको स्वागतसँगै तीज विशेष कार्यक्रम गर्दै

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको स्वागतसँगै तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । भोलि भदौ ४ गते गाउँपालिकाको लामिटार सभाहल प्राङ्गणमा सांस्कृतिक कार्यक्रमका साथ मुख्यमन्त्रीको स्वागत र तीज विशेष कार्यक्रमको आयोजना गर्न लागिएको जनाइएको छ ।

मनहरी गाउँपालिकासमेत समेटिएको मकवानपुर क्षेत्र नम्बर २(ख) बाट प्रदेशसभा सदस्य निर्वाचित बानियाँ प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएसँगै गाउँबासीमा समेत उत्साह छाएको भन्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पालिकाले मुख्यमन्त्रीको बधाई तथा स्वागत कार्यक्रम राखिएको जानकारी दिए । मुख्यमन्त्री नियुक्त भएपछि आफू निर्वाचित क्षेत्रमा पहिलोपटक बानियाँ औपचारिक स्वागत कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा गाउँपालिकाले हरेक वर्ष विशेष कार्यक्रमको आयोजना गर्दै आइएकोमा यस वर्ष पनि विविध सांस्कृतिक कार्यक्रमका साथ शुभकामना आदानप्रदान गर्न लागिएको अध्यक्ष कालाखेतीले बताए ।

कार्यक्रममा गाउँपालिका क्षेत्रका विभिन्न संघ संस्था, सहकारी, टोल विकास समिति, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका महिला समितिका प्रतिनिधिलगायतलाई गाउँपालिकाले तीज विशेष कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । तीज विशेष कार्यक्रममा मनहरीको आस्था कला केन्द्रका कलाकारहरुले विभिन्न तीज गीतमा मौलिक नृत्य प्रस्तुत गर्नुका साथै अन्य सांस्कृतिक कार्यक्रम पनि गरिने जनाइएको छ ।
कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, जिल्ला समन्वय समितिका पदाधिकारी, प्रमुख जिल्ला अधिकारीलगायतको समेत सहभागिता रहने गाउँपालिकाले बताएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan