भीमेश्वर नगरपालिका–६ रमिटेडाँडामा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापति शिरिष बस्नेतसहित दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार राति करिब ९ बजे बा।५३ प ८८९९ नम्बरको मोटरसाइकलमा सवार २४ वर्षीय बस्नेत घाइते भई उपचारका क्रममा चरिकोटस्थित च्छो रोल्पा अस्पतालमा निधन भएका हुन्। उनी भीमेश्वर नगरपालिका–५ माटीका स्थानीय थिए।
सोही मोटरसाइकलमा सवार बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय श्यामबहादुर खत्री ‘सुजन’को पनि दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ।
काठमाडौँबाट चरिकोटतर्फ जाँदै गरेका बस्नेतले चलाएको मोटरसाइकल लामोसाँघु–जिरी सडकखण्डमा बा।प्र।०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो। उक्त मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
