हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८, इपामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६३ वर्षीया लिलादेवी खत्री रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान करिब ७ः३० बजे इपादेउराली–कोगटे–भीमफेदी हुँदै हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसले खत्रीलाई ठक्कर दिएको हो।
खत्री सोही बसमा सवार रहेको र बसबाट ओर्लिएपछि गाडीको अगाडिबाट बाटो काट्ने क्रममा बसको ठक्करमा परेको प्रहरीले जनाएको छ। ठक्करबाट उनको टाउकोमा गम्भीर चोट लाग्दा घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदी र ठिङ्गनबाट ट्राफिकसहित २० जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
दुर्घटनामा संलग्न बस घटनास्थलमै रहेको छ। बसका चालक भीमफेदी गाउँपालिका–७, कोगटे निवासी ४३ वर्षीय राजु आचार्य प्रहरीको टेलिफोन सम्पर्कमा रहेको प्रहरीले जनाएको छ।
टनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

