मनहरी। मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको पहलमा गाउँपालिकाबाट काजकिरिया खर्च उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइएको छ। आज मनहरी गाउँपालिका–६ र ७ का विभिन्न १९ विपन्न परिवारलाई प्रति परिवार २० हजार रुपैयाँ नगद काजकिरिया खर्चसहित श्रद्धाञ्जलीपत्र हस्तान्तरण गरिएको छ।
गाउँपालिकाले आफन्त गुमाएका परिवारको पीडामा साथ दिने उद्देश्यले उक्त सहयोग प्रदान गरेको हो।
अध्यक्ष कालाखेतीले व्यक्तिगत रूपमा आफैं पनि पारिवारिक शोक सहेको अनुभव रहेको भन्दै, “गाउँबासीकाे दुःखमा गाउँपालिका साथमै छ,” भनेर जनाए।
यस किसिमको सहयोगले शोकसन्तप्त परिवारहरूलाई केही राहत मिल्ने विश्वास व्यक्त गर्दै अध्यक्ष कालाखेतीले आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिइने बताएका छन्।
यस कार्यक्रमले विपन्न र दुःखद अवस्थामा परेका परिवारहरूबीच सामाजिक न्याय र सहकार्यको भावना बलियो बनाउने अपेक्षा गरिएको छ।

