Search
Close this search box.

व्यावसायिक प्रतिष्ठानमाथिको आक्रमणप्रति निजी क्षेत्रको गम्भीर आपत्ति

हेटौंडा। भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शन नियन्त्रणबाहिर जाँदा नागरिक तथा निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको भन्दै मकवानपुरका विभिन्न निजी क्षेत्र सम्बन्धित संघसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेका छन्।

उनीहरूले प्रदर्शनका क्रममा हत्या, आगजनी र सम्पत्तिमा भएको तोडफोडलाई संविधानप्रदत्त मौलिक हकको उल्लंघन बताउँदै यस्तो घटनाले मुलुकलाई आर्थिक संकटमा धकेलेको जनाएका छन्। साथै, “उद्योग र व्यवसाय राष्ट्रनिर्माणका आधारस्तम्भ हुन्” भन्दै निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सुधार आवश्यक रहेको उल्लेख गरेका छन्।

संयुक्त विज्ञप्तिमा प्रदर्शनका क्रममा निर्माणाधीन संरचनाहरूमा क्षति पुगेको र त्यसको क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरिएको छ। यस्तै, चाडपर्वको समयलाई ध्यानमा राखी निर्माण व्यवसायीको भुक्तानी रोकिनु नहुने पनि भनिएको छ।

उनीहरूले व्यावसायिक प्रतिष्ठानमाथि भएको आक्रमणलाई “खेदजनक” बताउँदै यसले पूँजी पलायनको जोखिम बढाएको र नयाँ लगानी वातावरणमा नकारात्मक असर पार्ने चेतावनी दिएका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न, आगामी प्रदर्शनमा यस्ता घटनाहरू दोहोरिन नदिन र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन राज्यसँग माग गरिएको छ।

संयुक्त विज्ञप्ति मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ मकवानपुर र मकवानपुर होटल एसोसिएसनका पदाधिकारीहरूले जारी गरेका हुन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan