Search
Close this search box.

संविधान दिवसमा मुख्यमन्त्री बानियाँकाे शुभकामना सन्देश

हेटाैँडा- नेपालको संविधान जारी भएको आज (असोज ३ गते) १० वर्ष पूरा भएको छ। यस अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना आदानप्रदान भइरहेको छ । यसै सन्दर्भमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पनि एक विज्ञप्तिमार्फत शुभकामना व्यक्त गरेका छन् ।
​मुख्यमन्त्री बानियाँले संविधान जारी भएको १० वर्ष पुगेको अवसरमा नेपाली जनतालाई गौरवको अनुभूति भएको बताएका छन् । “नेपाली जनताको दशकौं लामो आन्दोलन र बलिदानबाट नेपालको संविधान जारी भएको हो” विज्ञप्तिमा भनिएको छ, “प्राप्त संविधान जारी भएको १० वर्षको यस सुखद अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन गुमाउनुहुने ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।”
​त्यस्तै उनले नेपालको राजनीतिक इतिहासमा पहिलो पटक जनप्रतिनिधिले संविधानसभाबाट संविधानको मस्यौदा तयार गरेको स्मरण गराएका छन् । २०७२ सालमा जारी भएको संविधानले देशको भविष्य निर्धारण गर्ने कार्य गरेको उनले बताएका छन् ।
​विज्ञप्तिमा भनिएको छ, “नेपाली राजनीतिक इतिहासमा पहिलो पटक जनप्रतिनिधि मार्फत जनप्रतिनिधिले संविधानसभाबाट “संविधान, २०७२” लाई हस्ताक्षर गरी अनुमोदन गरेर जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको अवसरको सम्मान र स्मरण स्वरूप संविधान दिवसलाई राष्ट्रिय पर्वको रूपमा मनाइएको छ ।”
​मुख्यमन्त्री बानियाँले संविधानले नै सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता विशेषतालाई संस्थागत गरेको बताएका छन् । संविधानले सामाजिक न्याय र समानताको अधिकारलाई स्थापित गरेको र यसको कार्यान्वयनबाट समृद्ध नेपाल निर्माण गर्ने बाटो खुलेको बताएका छन् ।
​विज्ञप्तिमा भनिएको छ, “यसले सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छ । यसका लागि सङ्घीय, प्रदेश सरकार र स्थानीय तहले पुरा गर्नुपर्ने भनी निर्दिष्ट गरेको जिम्मेवारी बहन गर्दै समृद्ध नेपाल हाँसिल गर्ने दिशामा अघि बढ्नुपर्ने आजको मूल आवश्यकता हो ।”
​मुख्यमन्त्री बानियाँले संविधानको भावनाअनुरूप प्रदेश सरकार सुशासन, पारदर्शिता, जवाफदेही, सेवामुखी, पारदर्शी, विकासमुखी र जनमुखी बनाउन प्रतिबद्ध रहेको बताएका छन् । उनले प्रदेश सरकारले प्रदेशवासीलाई प्रदेश सरकारको तर्फबाट प्रदान गर्नुपर्ने हक र अधिकारको सुनिश्चितता गर्दै समृद्ध बागमती प्रदेश निर्माण गर्ने यात्रामा अघि बढ्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan