Search
Close this search box.

हेटौँडा उपमहानगरमा आगजनी र तोडफोडबाट ३२ करोड बढीको क्षति

हेटौँडा । जेन–जी पुस्ता आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते हेटौँडा उपमहानगरपालिकामा भएको तोडफोड र आगजनीका कारण करिब ३२ करोड ५० लाख ७० हजार रुपैयाँबराबरको क्षति पुगेको छ।

उपमहानगरपालिकाले गठन गरेको क्षति मूल्यांकन समितिका संयोजक तथा सामाजिक विकास महाशाखा प्रमुख डा. भीमप्रसाद तिमल्सिनाका अनुसार आन्दोलनका क्रममा मुख्य प्रशासनिक भवनदेखि विभिन्न वडा कार्यालय, सवारीसाधन, कागजात र सेवा केन्द्रमा गम्भीर क्षति पुगेको हो।

उनका अनुसार हेटौँडा–२ स्थित मुख्य कार्यालयसहित वडा नम्बर १, ३, ४, १०, ११, १५ र १९ का कार्यालयमा क्षति पुगेको छ। वडा नम्बर ११, १५ र १९ का कार्यालयमा प्रत्यक्ष आगजनी र तोडफोड भएको छ भने अन्य वडाहरूमा उपकरणहरू बाहिर निकालेर जलाइएको छ।

सबैभन्दा ठूलो क्षति भवनतर्फ देखिएको छ। प्राविधिक मूल्यांकनअनुसार भवनहरूमात्रै करिब १६ करोड ३७ लाख रुपैयाँ बराबरका नष्ट भएका छन्।

सवारीसाधनमा पनि व्यापक क्षति भएको समितिको निष्कर्ष छ। मूल्यांकनअनुसार उपमहानगरपालिकाका ९ वटा चारपांग्रे सवारी पूर्ण रूपमा नष्ट भएका छन् भने १७ मोटरसाइकल, ३ स्कुटर र १ अटोसमेत जलाइएको छ। सवारीसाधनमा मात्रै ६ करोड ७३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ।

जिन्सी र राजस्व शाखा पूर्ण रूपमा ध्वस्त हुँदा महत्त्वपूर्ण अभिलेख र दस्तावेज पनि नष्ट भएका छन्। राजस्व संकलन कार्य ठप्प भएको छ भने स्वास्थ्य, सामाजिक विकास र पूर्वाधार शाखाबाट अत्यावश्यक सेवा भने सञ्चालित भइरहेको समितिले जनाएको छ।

उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेले आन्दोलनका कारण उपमहानगरको लामो इतिहास र अभिलेख नष्ट भएको बताए। उनका अनुसार योजना शाखामा रहेका विभिन्न २५ वटा निर्माण कम्पनीका भुक्तानीसम्बन्धी फाइलहरू पनि जलेका छन्।

उनले आगजनी र तोडफोडको घटनाले आमसर्वसाधारणदेखि विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिहरू प्रत्यक्ष प्रभावित हुने जनाए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan