हेटौंडा । देशभर ‘जेन-जि’ आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीहरूलाई तोकिएको म्यादभित्र स्वेच्छाले फर्किन सम्बन्धित निकायहरूले चेतावनी दिएका छन्। भदौ २३ र २४ गते भएको आन्दोलनको मौका छोपेर विभिन्न कारागारहरूबाट भागेका कैदीहरू अझै सम्पर्कमा नआएको जनाइएको छ।
मकवानपुरको भीमफेदी कारागारबाट मात्रै २ सय २९ जना कैदी फरार भएका थिए। तीमध्ये अझै पनि सम्पर्कमा नआएका कैदीबन्दीहरूलाई असोज २० गतेसम्म आफैं नजिकको प्रहरी कार्यालय वा सम्बन्धित कारागारमा सम्पर्क गर्न अपिल गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सुवास चन्द्र बोहराका अनुसार, “आज (असोज १२) बाट फरार कैदीबन्दीहरूको खोजी अभियानलाई थप तीव्र पारिएको छ। सबै स्थानीय तहमा फरार कैदीहरूको विवरण पठाइएको छ र उनीहरूका परिवारजनसँग समन्वय गर्दै घरघरमा पुगेर फर्काउने प्रयास भइरहेको छ।”
प्रहरीले आज साँझबाट विशेष खोजी अभियान सुरु गर्ने जानकारी दिएको छ। आवश्यक परेमा सशस्त्र प्रहरी, सूचनाको भरपुर उपयोग, निगरानी टोली र थप स्रोत साधन प्रयोग गरिने जनाइएको छ।
त्यस्तै, हेटौंडा–११ स्थित बाल सुधार गृहबाट पनि ११ जना बालबन्दी फरार भएका छन्। उनीहरूको खोजी पनि साथसाथै भइरहेको प्रहरी जनाएको छ।
यसैबीच, कारागार व्यवस्थापन विभाग, कालिकास्थान काठमाण्डौले असोज १० गते पठाएको पत्रमार्फत फरार कैदीहरूलाई आश्रय दिने, लुकाउने वा सहयोग गर्ने व्यक्तिहरूमाथि पनि कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। कारागार ऐन २०७९ र अन्य प्रचलित कानुनअनुसार यस्तो कार्य गैरकानुनी मानिने भएकाले प्रहरीको आग्रह छ — “उनीहरूलाई लुकाउने कार्य नगर्नुहोस्, बरु कानुनी प्रक्रिया पालना गर्न सहयोग पुर्याउनुहोस्।”
प्रहरी र स्थानीय प्रशासनको समन्वयमा भइरहेको यो खोजी अभियान असोज २० गतेसम्म जारी रहनेछ। त्यसपछि भने सम्पर्कमा नआएकाहरूविरुद्ध कानुनी कारबाही प्रक्रिया तत्काल अघि बढाइने स्पष्ट गरिएको छ।

