Search
Close this search box.

लागुऔषध प्रयोगकर्ता, एचआईभी संक्रमित तथा पुनर्स्थापना केन्द्रका सेवाग्राहीमाथिको भेदभाव अन्त्यका लागि छलफल

हेटौंडा । लागुऔषध प्रयोगकर्ता, एचआईभी संक्रमित तथा पुनर्स्थापना केन्द्रमा उपचाररत व्यक्तिहरूमाथि भइरहने कलंक र भेदभाव अन्त्य गर्न सम्बन्धित निकायहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

मंगलबार रिकभरीङ नेपालको आयोजनामा हेटौँडा अस्पतालमा सम्पन्न कार्यक्रममा जिल्ला तथा प्रदेशस्तरीय सरकारी निकाय, पुनर्स्थापना केन्द्र, नागरिक समाज तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रम रिकभरीङ नेपालका केन्द्रीय सदस्य सौजन डीसिको अध्यक्षता तथा मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख चन्द्रकान्त चापागाईंको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै डीसिले लागुऔषध प्रयोगकर्ता र एचआईभी संक्रमितहरू समाजमा अझै पनि भेदभाव र मानसिक यातना भोगिरहेका उल्लेख गर्दै स्थानीय तथा प्रदेश सरकारको उत्तरदायित्व अझ प्रभावकारी बनाउन जोड दिए। उनले मकवानपुरमा धेरैजसो व्यक्तिहरू हेपाटाइटिसबाट पीडित भए पनि महँगो शुल्कका कारण उनीहरूले उपचार पाउन नसकेको जानकारी दिए।

कार्यक्रममा बागमती प्रदेशका फोकल पर्सन मनिष मान श्रेष्ठले प्रस्तुत गरेको तथ्यांकअनुसार देशभर लागुऔषध प्रयोगकर्तामध्ये ३५.६ प्रतिशत बागमती प्रदेशमा छन्। लुम्बिनीमा १९.९ प्रतिशत, मधेसमा १२ प्रतिशत, गण्डकीमा ७ प्रतिशत, कर्णाली र सुदूरपश्चिममा ३-३ प्रतिशत छन्।

२० वर्षदेखि २९ वर्ष उमेर समूहका युवा बढी प्रभावित रहेको तथ्यांकमा उल्लेख छ। रिकभरीङ नेपालका सर्भेक्षणअनुसार २०६३ सालमा लागुऔषध प्रयोगकर्ता पुरुषको संख्या ४२ हजार ९५४ र महिलाको ३ हजार ३५५ थियो भने २०७६ सम्ममा पुरुष प्रयोगकर्ता संख्या १लाख २१ हजार ६९२ पुगेको देखिन्छ।

कार्यक्रमका क्रममा एक एचआईभी संक्रमित महिलाले आँखा उपचारको लागि अस्पताल जाँदा आफ्नो अवस्थाको जानकारी दिँदा चिकित्सकले शल्यक्रिया गर्न नमानेको पीडा व्यक्त गरिन्। उनले भनेकी थिइन्, “म उपचार सामग्री आफैं लिएर जान तयार थिएँ, तर मलाई उपचार दिइएन।”

हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा (१, २, ७, ८, १०, ११, १२, १३, १४ र १५) लागुऔषध प्रयोगकर्ताको उल्लेख्य संख्या रहेको बताइएको थियो। छलफलमा स्थानीय सरकार आफ्नो जिम्मेवारीबाट पछि हटेको भन्ने गुनासोसमेत उठाइएको थियो।

यद्यपि, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयजस्ता मुख्य निकायहरूको उपस्थिति नहुँदा कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको आयोजकले बताए।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan