Search
Close this search box.

हेटौंडामा पाँच बालक बालश्रमबाट उद्धार

हेटौंडा।  हेटौंडा उपमहानगरपालिका भित्रका विभिन्न पसल, ग्यारेज र वर्कशपमा बालश्रममा संलग्न पाँच जना बालकको संयुक्त टोलीले उद्धार गरेको छ।

बाल हेल्पलाइन मकवानपुरका प्रबन्धक झबिन्द्र ज्ञावली, श्रम तथा रोजगार कार्यालय मकवानपुरकी नायब सुब्बा शर्मिला राई, हेटौंडा उपमहानगरपालिकाकी बाल कल्याण अधिकृत विना थिङ, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि दिपक कुमार पौडेल, सिविनकी मनोपरामर्शकर्ता सम्झना अधिकारी र प्रहरीको टोलीले बिहीबार गरिएको अनुगमनको क्रममा ती बालकहरूको उद्धार गरेको हो।

उद्धार गरिएका बालकहरू मध्ये हेटौंडा–११ मा अवस्थित अब्दुलाल बडी बिल्डरमा सात महिनादेखि काम गरिरहेका १५ वर्षीय बालक,  १७ वर्षीय बालक, हेटौंडा–४ पारिजातपथस्थित समीर मोटरसाइकल वर्कशपमा एक वर्षदेखि कार्यरत १५ वर्षीय दुई बालक, र हेटौंडा–११ मा कटन केन्डी बेच्दै हिँड्ने १५ वर्षीय बालक रहेका छन्।

त्यस्तै, हेटौंडा–१९ बस्तिपुरस्थित न्यु अर्याल किराना पसलमा पनि बालकलाई काम गराइँदै आएको सूचनाको आधारमा अनुगमन गरिएको थियो। पसल संचालकले बालकलाई घर पठाइसकेको जानकारी दिएका थिए।

संयुक्त टोलीले सो दिन ६ वटा ग्यारेज, होटल, पसल र वर्कशपमा अनुगमन गरेको थियो। उद्धार गरिएका बालकहरूलाई हाल बाल हेल्पलाइन मकवानपुरमा राखिएको छ।

बाल हेल्पलाइनका प्रबन्धक ज्ञावलिका अनुसार उद्धार गरिएका बालकहरूको मनोसामाजिक परामर्श (काउन्सलिङ) गरी उनीहरूको पारिवारिक पृष्ठभूमि, तलब पाएका–नपाएका, र काममा संलग्न हुन पुगेको कारणबारे विवरण संकलनपछि श्रम कार्यालय पठाइनेछ।

श्रम कार्यालयमा दुबै पक्षको बयान लिएर, बालश्रममा संलग्न नियोक्तामाथि कारबाही गरिने र श्रमिक बालकलाई क्षतिपूर्ति उपलब्ध गराइने बताइएको छ।

ज्ञावलीका अनुसार, बालश्रममा लगाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना  र एक वर्ष कैद हुने कानुनी व्यवस्था रहेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan