हेटाैँडा- मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका–१ बुङदलस्थित भित्री सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएकाे छ । आज बिहान करिब ७ बजेतिर बुङदल खोलाको पुलबाट करिब ५० फिट तल खसेर मोटरसाइकल दुर्घटना भएको हो ।
मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका–२ चौकिटोलका ३९ वर्षीय मोटरसाइकल चालक वीरबहादुर गुरुङ र हाल हेटौडा बस्दै आएका पूर्वी नवलपरासी कावासोती–१३ घर भएका ३५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन् ।
बा.प्र. ०३–००५ प ७९८० नम्बरको मोटरसाइकल खोलामा खसेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलतर्फ खटिएको थियो । प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटना राति नै भएको हुन सक्ने अनुमान गरिएको छ । मोटरसाइकल सुपारेटार ब्यारेकतर्फबाट सामरी–धादिङतर्फ (पश्चिमबाट पूर्व) गइरहेको अवस्थामा दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलको मुचुल्का लगायतका प्रक्रिया पूरा गरी दुवै जनाको शव पोस्टमार्टमका लागि हेटौडा अस्पताल ल्याइएको छ। शव अस्पतालको शबगृहमा राखिएको छ। दुर्घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


