Search
Close this search box.

निर्वाचनका बेला भ्रम छर्नेहरु आउँछन्, काम गर्नेलाई रोज्नुहोस्ः मुख्यमन्त्री बानियाँ

हेटौँडा–बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले निर्वाचनका बेला भ्रम छर्नेहरुदेखि सचेत रहन आम मतदातालाई आग्रह गरेका छन् । अन्तरीम सरकाले आगामी फागुनमा गर्ने भनिएको निर्वाचनमा पनि भ्रमको खेती गर्ने र मीठा भाषण गर्ने धेरै आउने भएकाले काम गर्ने उम्मेदवारलाई चिनेर जिताउनुपर्ने बताए ।

मंगलबार मकवानपुरको मनहरी गाउँपालिका–१ स्थित तल्लो मकरी राधाकृष्ण मन्दिर रोड स्ल्याप ढलान कार्यको सुरुवात गर्ने कार्यक्रममा मुख्यमन्त्री बानियाँल भने–‘कुरा धेरै जान्ने तर, काम नगर्नेहरुले फेसबुक र युट्युबमा राम्रा भाषण गर्छन्, तर काम भने गर्दैन् । जनताले त्यस्तालाई चिनेर कुरा र काम दुवै गर्नेलाई रोज्नुपर्छ ।’ भ्रम सिर्जना गर्ने व्यक्ति र पार्टीलाई गाउँगाउँबाट लखेट्नुपर्ने भन्दै उनले ‘तिमीहरुले के गर्यौ, के गर्ने लक्ष्य छ भनी सोध्नुपर्ने बताए ।

प्रदेश सरकारले न्यायमुखी, गाउँमुखी र विकासमुखी काम गरिरहेको दावी गर्दै उनले आगामी बजेट त्यतै लक्षित हुने पनि बताए । विकाससँगै नागरिकलाई सीप र तालिम प्रदान गरी आय आर्जनसँग जोड्न प्रदेश सरकार लागिरहेको बानियाँले बताए । नागरिकले दिएको मतको अवहेलना नगरी काम गर्ने प्रतिवद्धता पनि उनले जनाए ।

स्ल्याब ढलान सुरुवात कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले गाउँबासीलाई आयआर्जन र सीप प्रवद्र्धन गर्दै स्वरोजगार प्रवद्र्धन गर्न गाउँपालिकाले धेरै काम गरिरहेको बताए । किसानलाई गाईभैँसी पालनमा प्रोत्साहनको लागि दूध बिक्रीको पैसा समयमै भुक्तानी दिलाउन गाउँपालिकाले दुग्ध डेरीसँग सम्झौता गरी काम गरिरहेको उनले बताए । दुग्ध किसानलाई अनुदान र समयमै भुक्तानको व्यवस्था गर्दा गाईभैँसी पाल्ने किसानको संख्या बढेको उनको भनाइ थियो । शोकमा परेका विपन्न नागरिकलाई काजकिरिया खर्च उपलब्ध गराउने गरिएको बताउँदै उनले यसले गर्दा आम नागरिकले स्थानीय सरकारको अनुभूति गर्न पाएको बताए ।

बागमती प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट मनहरी गाउँपालिका–१ तल्लो मकरी राधाकृष्ण मन्दिर रोड स्ल्याप ढलान सुरु भएको हो । ६ मिटर चौडाई र ७ सय ३२ मिटर लम्बाई रहेको सडक स्ल्याब ढलान कार्यको मुख्यमन्त्री बानियाँले कंक्रिट बिच्छ्याउन सुरुवात गराएका हुन् । ७४ लाख ९६ हजार रुपैयाँमा ठेक्का सम्झौता भई गुनी निर्माण सेवाले सडक निर्माणको काम थालेको हो । मनहरी गाउँपालिका १ नम्बर वडाध्यक्ष शिवप्रसाद खनालको अध्यक्षतामा सडक स्ल्याब ढलान शिलान्यास कार्यक्रम भएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan