हेटौँडा–खानेपानी तथा सरसफाईका तोकिएका सूचकको पालना गर्दै मकवानपुरको राक्सिराङ गाउँपालिका ५ स्थित ठाडेचुरी र ठाडे टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोलको घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच ५८ घरधुरी रहेको २ टोललाई पूर्ण सरसफाई उन्मुख घोषणा गरिएको हो ।
नेपाल ग्रामीण पुनर्निमाण संस्था (आरआरएन) द्वारा Welthungerhilfe(WHH) को सहयोगमा राक्सिराङ गाउँपालिकाले सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरेको हो । मकवानपुर जिल्लाको पहाडी क्षेत्रमा खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीको सुद्धीकरण र व्यवहार परिवर्तन परियोजनाअन्तर्गत आरआरएनले मकवानपुरको राक्सिराङ र कैलाशमा अभियान चलाइरहेको छ । सो क्रममा गाउँपालिका कार्यालयसँग सहकार्यमा टोलहरुमा खानेपानी र स्वच्छतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।
राक्सिराङमा हालसम्म १६ वटा टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरिसकिएको छ । घोषणाका लागि स्वच्छ र सफा घरका सूचकहरुको निर्धारण गरी सो सूचक पूरा गर्नका लागि कामहरु गरिएको थियो । आरआरएनले एक घर एक धारासहितको खानेपानी आयोजनामा समेत लगानी गरिदिएको छ । घरमा प्रयोगकर्तामैत्री तथा सुरक्षित चर्पीको प्रयोग, प्रयाप्त पानीसहित चर्पीमा सरसफाई सामाग्री भएको, खुला स्थानमा दिशा नभएको, बच्चाको दिसाको सही सदुपयोग भएको हुनुपर्ने सूचकमा उल्लेख छ । साथै बच्चालाई फोहोरबाट टाढा राखी सरसफाई गरेको अवस्था, आधारभूत स्तरको खानेपानीमा सबैको पहुँच भएको, पानी सुद्धीकरण गरेर पिउने गरेको, घरको भान्छा सफा तथा सिलौटा छोपेर राखेको, भाडा सुकाउने र राख्ने ¥याक चाङको व्यवस्था भएको, कुहिने र नकुहिने फोहोर छुट्याउने र उचित व्यवस्थापन गर्ने गरेको लगायतका डेढ दर्जनभन्दा बढी सूचक निर्धारण गरी पूर्ण पालना भएपछि पूर्ण सरसफाई उन्मुख र स्वच्छ सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।
शनिबार राक्सिराङ ५ का वडा अध्यक्ष हरिबहादुर प्रजाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, आरआएनका कार्यक्रम संयोजक लिल कार्कीलगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमकैबीच स्थानीयलाई फिल्टरसमेत वितरण गरिएको थियो । अभियानअन्तर्गत राक्सिराङमा हालसम्म आठ सय ७० घरमा धारा जडानका साथै ७ सय ५० घरमा फिल्टर वितरण गरिएको संस्थाले जनाएको छ ।


