Search
Close this search box.

क्यानडा जान चाहनेलाई माधव दुलालको सुझावः पैसा बोटमा फल्दैन, सीप नभए दुःख पाइन्छ

हेटौंडा । हेटौंडा–१७, हटियाका ४३ वर्षीय माधव दुलाल १७ वर्षदेखि क्यानडामा बस्दै आएका नाम चलेका गैरआवासीय नेपालीमध्ये एक हुन्। एनआरएन क्यानडाका निवर्तमान अध्यक्ष दुलालको विदेश यात्राको सुरुआत २३ वर्षको उमेरमा इजरायलबाट भएको थियो। मास्टर्स अध्ययन गर्दै गर्दा मुलुकमा भएको द्वन्दका कारण परीक्षा सर्दै जाँदा उनले उनले दुख पाए।यसैबीच एसएलसी पछि सिएमए अध्ययन पुरा गरेका उनले हेटौंडा अस्पतालमा तीन वर्ष सेवासमेत दिए। सशस्त्र जनआन्दोलनको कारण उनले वैदेशिक रोजगारीलाई आफ्नो गन्तव्य बनाउने निधो गरे। यसैबीच आएको प्रस्तावले उनी १५ दिन भित्रै  इजरायल उडे।

इजरायलमा डेढ वर्ष बिताएर क्यानडा पुगेका दुलाल भोगेका सुरुआती संघर्ष आज पनि उनी भुल्न सक्दैनन्। उनले भने,

“देखेको क्यानडा र भोगेको क्यानडा धेरै फरक रहेछ। भाषा, संस्कृति, मित्रता—सबै कुरा चिन्नै नसक्ने अन्धकारको बीचबाट गुज्रनुपर्‍यो।”

क्यानडामा नेपाली कम भएकाले अझै कठिन थियो। अनुभव नहुँदा उनी दुई महिना निःशुल्क ट्रेन चढेका रहेछन्। नयाँ भएको र नियम नबुझेको मानिएपछि मात्र जेल जानबाट बचेको उनले बताए।

दुलालले क्यानडा पुगेपछि बुझेको मुख्य कुरा सिपको महत्त्व रहेछ।

“सिप नभए विदेशमा दुख र असहजताबाहेक केही हुँदैन। काम नजानेको मान्छेलाई गाउँ–टोल नै थर्काउनेजति कष्ट आउँछ।”

काम पाएको दिनमा पनि सवारी चलाउन नआउँदा झण्डै घर फर्किनुपर्ने अवस्था समेत आएको उनी सुनाउँछन्।

आफैँले भोगेका दुःख अरूलाई नपरोस् भनेर उनी सामाजिक काममा लागेको बताउँछन्। यही क्रममा एनआरएन क्यानडाको अध्यक्ष भएर दुई वर्षको कार्यकाल पूरा गरेका दुलालले ८ जना युवाको शव नेपाल पठाउने काम उनले नेतृत्वमा सम्पन्न भएको सम्झिए।

“एक शव नेपाल पठाउन १५ लाख रुपैयाँसम्म खर्च हुन्छ। धेरै परिवारले उतै दाहसंस्कार गर्नुपरेका छन्।”

क्यानडामा मात्रै दुई लाखभन्दा बढी नेपाली विद्यार्थी भएका दुलाल भन्छन्,“सबैभन्दा धेरै समस्या विद्यार्थीमै छ। अत्यधिक तनाव, काम नपाइने, ट्युशन फी तिर्न नसक्ने, अनि यसैबीच आत्महत्याका घटनाहरू बढ्दै गएका छन्।”

उनका कार्यकालमै ६ जनाले आत्महत्या र २ जना सवारी दुर्घटनामा ज्यान गुमाएका थिए।

दुलाल क्यानडा जाने युवाहरूलाई स्पष्ट सन्देश दिन्छन्—“क्यानडामा पढ्दै कमाउँदै गर्न सकिन्छ भन्ने भ्रममा नपर्नुहोस्।”

काम पाउन गाह्रो, पायो भने पनि शुल्क तिर्न नपुग्ने परिस्थितिले विद्यार्थी मानसिक रूपमा कमजोर बन्ने उनले बताए।

“ऋण गरेर पठाउनु हुँदैन। जस्ले जति वर्ष पढ्ने हो, अभिभावकले त्यत्ति वर्षको खर्च पठाउन सक्ने भए मात्र पठाउनु उपयुक्त हुन्छ।”

विदेशबाट नेपाल हेर्दा खत्तम भइहाल्यो जस्तो लागे पनि नेपालमा आएपछि त्यसको वास्तविकता फरक हुने दुलाल बताउँछन्।

“नेपाल राम्रो देश हो, तर हामीले त्यसको उपयोग गर्न सकेका छैनौँ।”

पर्यटन, सबै प्रकारका सम्भावना र अवसर यहाँ छन्, तर शान्ति–सुरक्षा, विकासको ढिलाइ, जनतासँगै नेतामा देखिएको आचरणले अन्तर्राष्ट्रिय छवि कमजोर परेको उनको भनाइ छ।

हालैका जेनजी आन्दोलनमा देखिएको आगजनी–तोडफोडले नेपाललाई विश्व समुदायले नकारात्मक रूपमा हेरेको दुलाल बताउँछन्। “विदेशीलाई हामीले नेता मात्रै होइन, जनता पनि गलत छन् भन्ने सन्देश दिनुहुँदैन।”

उनी भन्छन्,“सपना बोकेर नभागौँ, सिप लिएर अघि बढौँ”

क्यानडामा १७ वर्षको अनुभव बोकेका दुलाल भन्छन्—“विदेशमा सफलता सजिलो भन्दा पनि संघर्षको अर्को नाम हो। क्यानडामा पैसा बोटमै फल्छ भन्ने सोच गलत हो।”

नेपाल आएका अवसरमा दुलालले स्पष्ट सन्देश दिए—“हामी विदेशमा बस्नेले पनि हरेक दिन नेपालकै सपना देखिरहेका हुन्छौँ। नेपाललाई अघि बढाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी लिनुपर्छ।”

हिटाबाट साभार

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan